
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगरभित्र अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण र औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको गुनासो आएको बताएका छन् । बुधबार बिहान फेसबुकमा सूचना राख्दै उनले चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आएको बताएका छन् ।
नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेखसमेत नराख्ने गरिएको उनले बताएका छन् ।
औषधि पसल व्यवस्थापन नगरिएको र काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको गुनासाहरू समेत आएको उनले उल्लेख गरेका छन् ।
उनले मंसिर मसान्तभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न आग्रह गरेका छन् । नभए औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने उनले बताएका छन् ।