
शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा मृत्यु भएका युवकको विषयलाई लिएर स्थानीयले बाराको निजगढमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
घटनाको छानबिनसहित मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई भित्री बाटोमार्फत डाइभर्ट गरिएको छ ।
साथै आन्दोलनरत पक्षसँग छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधवार झडप हुँदा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका १ का २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको भन्दै विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको थियो ।
मुखियाको शव हाल वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।
मृत्यु भएको ४ दिन बितिसक्दा पनि शव परीक्षण भएको छैन भने आफन्तले शव पनि बुझेका छैनन् ।