ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका एक व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको साविक जानकीनगर गाविस ७ का कोमलराज उपाध्याय रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार उनले ५१ जनालाई यूएईस्थित दुबईमा आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाएर भिजिट भिसामार्फत दुबई बोलाएर अलपत्र पारेका थिए ।
रोजगारीका लागि आफूहरूबाट रकमसमेत लिएको तर भने बमोजिमको नलगाइ ठगी गरेको उनीहरूले सीआईबीमा उजुरी दिएका थिए ।
उजुरीपछि सीआईबीको अनुरोधमा इन्टरपोलले २०७९ वैशाख २७ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।