
पुसको चिसोमा पालमा रात काटिरहेका जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई न्यानो कपडा जुटाउन अखिल नेपाल महिला संघ (अनेमसंघ) रूपन्देही जुटेको छ ।
भूकम्पले घरबारविहीन र कठ्याङ्ग्रिदो जाडोमा पीडित परिवारलाई न्यानो कपडा किनेर पठाउन लागेका छन् । अहिले एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवलमा कपडा मिलाउँदै प्याकिङ गर्न महिला नेतृत्वहरू कस्सिएका छन् ।
अनेमसंघ रुपन्देही इन्चार्ज ज्ञानु केसीले ५०० जनालाई पुग्ने न्यानो कपडा जम्मा गरेर रुकुम पश्चिम पठाउन जुटेको बताइन् । ‘केही बल्याङकेटीहरू किनेका छौं । केही सहयोग मागेका छौं । रुपन्देहीका सबैजसो पालिकाहरूमा सहयोग जुटाएर एमाले रुकुम पश्चिमलाई बुझाएर त्यहीँमार्फत वितरण गर्ने गरी लागेको छौं’, उनले भनिन्, ‘एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दलाल देवकोटालाई कपडा बुझाउँछौं । उहाँले त्यहीँबाट वितरण गर्नुहुन्छ । दुःख र अप्ठ्यारो पर्दा सानो भए पनि सहयोग गरौं भनेर यो अभियानमा लागेका हौं ।’
५०० बोरा कपडा तयारी गरेर राखिएको छ ।
अनेमसंघकीको नेतृ मधुकला कुँवरले अप्ठ्यारोमा सानो भए पनि सहयोग पुगोस् भनेर अभियानमा जुटेको बताइन् ।
गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको थियो ।
क्षति पुर्याएको रुकुम पश्चिम र जाजरकोटमा लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पाउने किस्ता समेत पाउन सकेका छैनन् ।
राजनीतिक दलका नेताहरू पीडितका लागि अस्थायी घर बनाउन जुटेका छन् । अभियानमा अनेमसंघ रुपन्देही र अनेमसंघ बुटवल सक्रिय छन् ।