१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीको प्रतिबद्धता - सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छु

पुस ४, २०८०
काठमाडौं
प्रधानमन्त्रीको प्रतिबद्धता - सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छु
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्य योजना बनाउने बताएका छन् ।​​

बुधवार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैंमा महत्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ। मैले क्यालेन्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु’, प्रधानमन्त्रीले भने, ‘एक वर्षमा हामीले कति काम गर्‍यौं, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन गरेर आगामी योजना निर्माण गर्छु।’

वार्षिक समीक्षा बैठकमा बोल्दै उनले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

‘म १० बजे नै कार्यालय आउँछु। नियमित रुपमा छलफल, समीक्षा र मूल्यांकन हुन्छ’ प्रधानमन्त्रीले भने, ‘जनतालाई डेलिभरी दिने कुरा मुख्य हो। जति राम्रो डेलिभरी दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ। हामीले जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ, सोचिन्छ।’

भूमिको वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा समृद्धिको मुल काम गर्न नसकिएको उनको भनाइ छ ।

‘देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य हार्मोनी कृषि र भूमि नै हो। कृषिलाई विकासको मुल आधार बनाउन सकेनौं र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकेनौं भने समृद्धिको मूल काम गर्न सक्दैनौं’, प्रधानमन्त्रीले भने, ‘जलविद्युत र उद्योग पनि महत्वपूर्ण छन् । तर उद्योग पनि कृषिमा आधारित भएर मात्र चल्छन् । तसर्थ, कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने कुरालाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्