२१ असार २०८३, आइतबार

चेपाङ गाउँमा घरबास सञ्चालन

पुस ९, २०८०
चितवन
चेपाङ गाउँमा घरबास सञ्चालन

चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो । 

इच्छाकामना–२ तोवाङ र इच्छाकामना– १ भाराङमा  चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना–२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र  कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पद मार्गमा आउने पर्यटकलाई लक्षित गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई  सहयोग गरिएको जानकारी दिए । 

चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरबास सञ्चालन गर्न सपना भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने बताए । उनले भने, “यहाँका चेपाङ समुदायको आयस्तर वृद्धिका लागि इच्छुकलाई घरबास सञ्चालन गर्नका लागि हामी आर्थिक सहयोग र तालिम प्रदान गर्नेर्छौं, विशेष गरी विदेशी पर्यटकको रहनसहनबारे जानकारी गराउने, पर्यटकलाई गर्ने व्यवहार, सरसफाइलगायतका बारेमा तालिम प्रदान गर्ने योजना छ ।”
 
रिक्सजा ट्राभल एजेन्सी नेदरल्याण्ड्सका प्रमुख मारियस एप्पलम्यानले हालै इच्छाकामना–२ तोवाङका तिलु चेपाङद्वारा सञ्चालित घरबास  शुभारम्भ समेत  गरे । सो अवसरमा उनले चेपाङ सुमदायको संस्कार संस्कृति तथा जीवनयापनबारे जान्न पाउँदा निकै खुसी लागेको सुनाए। 

 घरबास सञ्चालिका तिलुले घरबास सञ्चालन गर्ने आफ्नो इच्छा पूरा गरिदिएकामा सपना भिलेजलाई धन्यवाद दिइन्। सो सस्थाले यस पद मार्गको सम्भाव्यताबारे अध्ययन गर्न गत वर्ष पनि रिक्सजा ट्राभल एजेन्सी न्यादरल्यण्ड्सका प्रमुख  एप्पलम्यानलाई भ्रमण गराएको थियो । यस पद मार्गको दुई रात तीन दिनको रहेको सस्थाका अध्यक्ष गिरीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्