०९ साउन २०८३, शनिबार

बुटवल–नारायणगढ सडकको अन्तिम बिन्दुमा नआई किन फर्किए रवि ?

पुस १२, २०८०
बुटवल
बुटवल–नारायणगढ सडकको अन्तिम बिन्दुमा नआई किन फर्किए रवि ?

सडक निर्माणमा दबाब दिने उद्देश्यसहित नारायणगढबाट बुटवल यात्रा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अन्तिम बिन्दुमा आइनपुगी बुधबार साँझ चितवन फर्किए । 

नारायणगढ–बुटवल सडकको अन्तिम बिन्दु बुटवलको राजमार्ग चौराहालाई लिइन्छ । रवि बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाको सीमानामा पर्ने बुटवल धागो कारखानासम्म आएर फर्किएका हुन् । कारखानादेखि बुटवल राजमार्ग चौराहा डेढ किलोमिटरको दूरीमा पर्छ । 

रास्वपा कार्यकर्ताहरूले बुधवार दिउँसो बुटवलको राजमार्ग चौराहामा कार्यक्रम गर्ने सार्वजनिक सूचना गरेका थिए । तर, त्यसको केही समयलगत्तै स्थान परिवर्तन गरिएको थियो । 

स्रोतका अनुसार रवि तीनदिने पैदल यात्रा गरेर बुटवल आउँदा सुप्रिम वचत तथा ऋण सहकारीमा वचत गरेर रकम अपचलन भएका पीडितबाट अप्ठ्यारो पर्न सक्ने देखेर उनी अन्तिम बिन्दुमा नआएको बताइएको छ । सुप्रिम सहकारी पनि राजमार्ग चौराहानिर नै रहेको छ । 

सुप्रिम सहकारीबाट समेत तत्कालीन अवस्थामा रवि लामिछाने प्रबन्धक रहेको समयमा ग्यालेक्सी फोरके टेलिभिजनको माउ कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले कानूनविपरीत ९ करोड लगेको छ जसले गर्दा सहकारी अप्ठ्यारोमा परेर कारोबार बन्द छ । 

इलाका प्रहरी कार्यालय, बुटवलका इन्पेक्टर दीपेन्द्र बानियाँले शुरूमा चौराहामा कार्यक्रम गर्ने जानकारी आए पनि पछि धागो कारखानामा कार्यक्रम गरेको बताए । 

‘उहाँहरूले शुरूमा चौराहामा कार्यक्रम गर्ने बताउनुभएको थियो,’ इन्स्पेक्टर बानियाँले लोकान्तरसँग भने, ‘पछि उहाँहरूले बुटवलबाट परै गर्नुभयो । सुरक्षा व्यवस्था मजबुत बनाइएको थियो । किन उता सार्नुभयो हामीलाई जानकारी भएन ।’

बानियाँका अनुसार सभापति लामिछानेसँग भेट्न राजमार्ग चौराहामा जम्मा भएका सहकारी पीडितहरूलाई सामूहिक रूपमा भेट्न अस्वीकार गरेपछि प्रतिनिधिमूलक ढंगले धागो कारखानामा भेट्ने व्यवस्था मिलाइएको थियो । 

यात्राको बिट मार्दै सभापति लामिछानेले यात्रुहरूले पाएको दुःख र पीडालाई आफूहरूले ३ दिनको अवधिमा महसुस गरेको बताउँदै अब यसको खबरदारी निरन्तर हुने बताए ।  उनले यो सडक सम्पन्न नभएसम्म निरन्तर खबरदारीमा जुट्ने बताए । 

जनताले वर्षौंदेखि धूलो खाइरहेकाले त्यसबाट चाँडो उन्मुक्ति दिनका लागि सरकार, निर्माण कम्पनी र अन्य पक्षलाई खबरदारी गर्न दबाब यात्रा गरिएको बताए ।

उनले सम्झौताअनुसार काम नहुँदा जनताले निकै सास्ती पाएको बताउँदै अब सडक निर्माण पूरा नहुँदासम्म निरन्तर दबाब दिने बताए ।

‘यो हाम्रो पुस्ता र युगलाई गरिएको अपराध हो, जनतालाई धूलो खुवाउनेलाई जनताले धुलो चटाउँछन्,’ सभापति लामिछानेले भने, ‘हाम्रो पुस्ता धूलोले हैरान भयो, त्यसैले दबाबका लागि यात्रा थालिएको हो, अब यो यात्रा रोकिन्न ।'

salt training

कमेन्ट गर्नुहोस्