
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २ सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको दरबन्दी संख्या २३४ बाट घटाएर १६६ मा झारेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयको शासकीय संरचना यही सातादेखि परिवर्तन हुने बताएका थिए ।
'प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकायका रूपमा विकास गर्नका लागि सचिवको अध्यक्षतामा गठित अध्ययन कार्यदलबाट प्रतिवेदन प्राप्त भई क्रमशः कार्यान्वयनमा लगिएको छ,' प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार २ सचिव, केही सहसचिव, उपसचिव र शाखा अधिकृतसहित ६८ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ ।
'प्रधानमन्त्री कार्यालयलाई स्मार्ट कार्यालय बनाउनका लागि अनावश्यक दरबन्दीहरू कटौती गरिएको हो,' आचार्यले लोकान्तरसँग भने, 'हिजो सचिवलाई थन्क्याउने, जिम्मेवारी नदिएर राख्नेजस्तो भएको थियो । अब प्रधानमन्त्री कार्यालयमा सचिव आउन प्रतिस्पर्धा हुने जसरी स्मार्ट कार्यालय बनाउन लागिएको हो ।'
धेरै सचिव भए पनि काम तथा जिम्मेवारी अभाव महसुस गरेर आफूलाई कारबाही गरी प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएको भन्ने सचिवहरूमा बुझाइ देखिन्छ । तर, अब अनावश्यक दरबन्दी हटाएर स्मार्ट र प्रभावकारी तरिकाले काम हुने हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयजस्तो ठाउँमा आउन सचिवहरूमा हीनताबोध भन्दा पनि प्रतिस्पर्धा हुने उनले बताए ।
'६८ जना कर्मचारीको दरबन्दी कटौती हुँदा राज्य वार्षिक रूपमा करोडौं रुपैयाँ आर्थिक भारबाट जोगिएको छ,' आचार्यले लोकान्तरसँग थपे, 'सबै मन्त्रालयहरूको समेत अनुगमन गर्नुपर्ने निकायका लागि पहिले भएकै महाशाखाहरूलाई एक आपसमा मर्ज गरेर चुस्त र स्मार्ट कार्यालय बनाउन लागिएको हो ।'
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा १ जना मुख्य सचिव, ७ जना सचिव, ११ जना सहसचिव, ३० जना उपसचिव,४६ जना शाखा अधिकृत, २ जना लेखा अधिकृत, शाखा अधिकृतअन्तर्गत ३ जना कम्प्युटर अधिकृत, १ जना कम्प्युटर इन्जिनियर, १ जना तथ्यांक अधिकृत, १ जना पुस्तकालय अधिकृत र १ जना छाविकार अधिकृतको दरबन्दी थियो ।
त्यसैगरी २० जना नायब सुब्बा, १ जना लेखापाल, ३४ जना कम्प्युटर अपरेटर, १ जना पुस्तकालय सहायक, १ जना मेकानिकल सुपरभाइजर, ५ जना खरिदार, सवारी चालक, कार्यालय सहयोगी गरी ५१ जना श्रेणीविहीनसहित कुल २३४ जना कर्मचारीहरूको दरबन्दी थियो ।
हेर्नुहोस्, यस्तो थियो साबिक दरबन्दी :


प्रधानमन्त्री कार्यालयकै सचिव गणेश पाण्डेले दिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, नीति प्रतिष्ठाले समेत दिएको प्रतिवेदनको आधारमा साबिकको दरबन्दीको पुनर्संरचना गरिएको आचार्यले बताए ।
आईटीसँग सम्बन्धित केही दरबन्दीहरू नयाँ थपिएको समेत उनले खुलाए ।