२४ असार २०८३, बुधबार
बैठकमा केन्द्रीय सदस्यहरूको आक्रोश

‘कांग्रेस कुशासनको साक्षीजस्तो बन्यो, मन्त्रीहरूले एउटै राम्रो काम गरेनन्’

पुस १२, २०८०
काठमाडौं
‘कांग्रेस कुशासनको साक्षीजस्तो बन्यो, मन्त्रीहरूले एउटै राम्रो काम गरेनन्’

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी भ्रष्टाचारीलाई जोगाउने र कुशासनको जिम्मेवारजस्तो भनी बाहिर प्रचार भएको भन्दै यसलाई चिर्नुपर्ने बताएका छन् । 

बिहीवारबाट केन्द्रीय कार्यालय सानेपामा शुरू भएको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले कांग्रेसलाई लाग्ने गरेको कुशासनको आरोपलाई चिर्ने गरी महासमितिको बैठकमा दस्तावेज ल्याउन माग गरेका हुन् । 

‘कांग्रेसलाई भ्रष्टाचारमा जिम्मेवार भएको र कुशासनको जिम्मेवार पार्टी रहेकोजस्तो गरी आरोपित गर्ने काम भइरहेको छ,’ नेपालीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘फागुनमा बस्न लागेको महासमितिको बैठकमा यसलाई चिर्ने गरी प्रस्ताव ल्याउनुपर्याे ।’

नाैजना केन्द्रीय सदस्यमध्ये अधिकांशले सरकारका कांग्रेसका मन्त्रीको कार्यसम्पादनमा प्रश्न उठाएका थिए । मन्त्रीले गरेका एउटै पनि राम्रो कामबारे जनतालाई भन्न नपाएको भन्दै उनीहरूले मन्त्रीहरूको कार्यसम्पादनबारे प्रश्न उठाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

null

 ‘एक वर्षमा हाम्रा कांग्रेसका मन्त्रीले राम्रो काम गरे भनेर बाहिर भन्नसमेत पाएनौं,’ मन्त्रीमाथि केन्द्रीय सदस्यहरूले बोलेको विषय उद्धृत गर्दै एक सदस्यले भने, ‘पार्टीका मन्त्रीको कामबारे हामीले जनतालाई भन्न पाउनुपर्यो ।’

कांग्रेस बैठकमा डा डिला संग्रौला, दीपक गिरी, देवेन्द्रराज कँडेल, नैनसिंह महर, मीन विश्वकर्मा, कृष्णचन्द्र नेपाली, राजीव कोइराला, दिलेन्द्रप्रसाद बडूसहितले मन्त्रीको कार्यम्पादन चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठाएका हुन् ।

केन्द्रीय सदस्य डा डिला संग्रौलाले अहिले कांग्रेस केन्द्र, प्रदेश र स्थानीय सरकारमा रहँदा पनि जनताले अपेक्षा गरेअनुसार  डेलिभरी दिन नसकेको आरोप लगाइन् ।

‘अहिले कांग्रेस, केन्द्र, प्रदेश र स्थानीय सरकारमा रहँदा पनि जनताले अपेक्षा गरेअनुसार हामीले डेलिभरी दिन सकेका छैनौं । यसबीचमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ वर्ष पूरा गरिसकेको छ,’ उनले भनिन्, ‘यो एक वर्ष साँच्चिकै लाभदायक रह्यो कि, केही साथीहरू मन्त्री हुनुभयो, सेवा सुविधा लिनुभयो भन्ने मात्र भयो, यस विषयमा पनि हामीले केन्द्रीय कार्यसमितिमा मिहीन ढंगले छलफल गर्न जरुरी छ ।’ 

बैठकमा मूल एजेण्डामा राष्ट्रियसभाको विषय उल्लेख नै नभएपछि सदस्यहरूले विरोध गरेका थिए । यसपछि राष्ट्रियसभा निर्वाचनको विषयमा एजेण्डा प्रस्तुत भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । 

बैठकपछि प्रचार विभाग प्रमुख विश्वकर्माले प्रधानमन्त्रीलाई असहज हुँदा मन्त्री हेरफेर गर्न सक्ने बताए । 

‘बैठकमा मन्त्रीहरूले आफ्नो कुरा राख्ने क्रम सकिएको छैन । मन्त्रीहरूले पनि आफ्नो कुरा राख्नुहोला,’ बैठकपछि उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रीको कार्यसम्पादनबारे चित्त बुझाउनुभएको छैन । यो गठबन्धन दलको सरकार हो । प्रधानमन्त्रीले गठबन्धनभित्र छलफल गरी जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्नुहुन्छ । यसमा कांग्रेसले अवरोध गर्दैन ।’ तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा र फागुन ७ देखि १० गतेसम्मको महासमिति बैठकपछि मात्रै मन्त्री हेरफेरको विकल्पमा जान सकिने पक्षमा छन् ।

null 

केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाए । केन्द्रीय सदस्य दीपक गिरीले एनसेल, टेरामक्स, सहकारी ठगीका विषयलाई टुंगोमा पुग्ने गरी छानबिन गर्नुपर्ने विषय उठाए । ‘एनसेल, टेरामक्स र सहकारीमा इस्यू मात्रै नउठोस्, भण्डाफोर हुने गरी टुंगोमा पुग्नुपर्छ । टेरामक्समा त हाम्रै पार्टीका नेतालाई पनि मुछ्ने काम भएको छ यो के हो ? यसमा प्रष्ट पार्नुपर्छ,’ उनले भने । 

अधिकांश केन्द्रीय सदस्यले राष्ट्रियसभा निर्वाचनका लागि प्रष्ट मापदण्ड बनाउन पार्टी नेतृत्वसामु दबाब बढाएका छन् । निर्वाचनमा हारेका, समानुपातिकमा पटक–पटक अवसर पाएकालाई फेरि पनि राष्ट्रियसभा लैजाँदा गलत सन्देश जाने भन्दै अवसर नपाएकालाई बनाउन उनीहरूले पार्टी नेतृत्वलाई आग्रह गेका छन् । 

बिहीवार मन्त्रीहरूले आफूले गरेका कार्यसम्पादनबारे बैठकमा जानकारी गराउने एजेण्डा थियो । तर मन्त्रिपरिषद् बैठकका कारण स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मात्रै आफूले गरेको कामको प्रस्तुति बैठकमा दिए । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाइरहेको, ८०० डाक्टरको काज फिर्ता गरेकोजस्ता विवरणलाई सकारात्मक कामको रुपमा प्रस्तुत गरेका थिए । 

बैठकमा महामन्त्री गगन थापाले समुदायमा कांग्रेस १ महिने अभियानलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । पुस १६ गतेदेखि माघ १६ सम्म गर्न लागेको समुदायमा कांग्रेस अभियानमा आफ्नो कुरा सुनाउनेभन्दा जनताको कुरा सुन्नुपर्ने बताएका हुन् । 

null

पटक–पटक थप्नै आएका भ्रातृ संस्थालाई प्रभावकारी बनाउनुपर्ने प्रस्ताव थापाले ल्याएका छन् । 

‘भ्रातृ संस्थाहरू लामो समय खाली बसे, विस्तारमा ढिलाइ भयो । ढिलाइपछि पनि जम्बो र भद्रगोलको अवस्थामा चलिरहेका छन् । तर समयमा महाधिवेशन भइरहेको छैन,’ उनले भने, ‘अब म्याद थपिरहेर के गर्ने भन्नेमा पार्टीले एउटा प्रष्ट खाका दिन ढिलाइ भइसक्यो ।’

बैठकमा सहमहामन्त्री जीवन परियारले जाजकोट भूकम्पपछि कांग्रेसको अगुवाइमा प्रभावित क्षेत्रमा ९४० भन्दा बढी अस्थायी घर टहरा बनाइएको विवरण प्रस्तुत गरेका थिए । 

बैठकमा उनले नेविसंघ र लोकतान्त्रिक खेलकुद संघले एउटै पनि घरटहरा बनाउन नसकेको विवरण प्रस्तुत गरेका थिए । परियारले प्रदीप पौडेल नेतृत्वमा १२५, अजयबाबु सिवाकोटीको नेतृत्वमा ५५, गुरु बरालको नेतृत्वमा ३० घर टहरा बनाएको विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा कर्णबहादुर बुढा, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले पनि धारणा राखेका थिए ।

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक शुक्रवार बिहान ११ बजे बस्नेछ ।  


 

salt training

कमेन्ट गर्नुहोस्