
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार बिहान आगजनी गरेका हुन् ।
मन्त्रीको गाडीमा आगजनी गरेका उनीहरूले बसमा समेत तोडफोड गरेपछि बालकुमारी क्षेत्रमा तनाब बढेको हो । आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।
अहिले भने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारीहरू तितरवितर भएका छन् । प्रहरीले यातायात खुलाउने प्रयास गरिरहेको छ ।
आन्दोलित युवाहरूले शुक्रबार मध्याह्न मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री ज्वाला नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत हुन् । पार्टी कार्यालयबाट मन्त्रालय जाने क्रममा उनीहरूले मन्त्रीको टोयोटा ल्यान्ड क्रुजर गाडीमा आगजनी गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।
प्रत्यक्षदर्शीका अनुसार उनी बालकुमारी क्षेत्रमा पुगेपछि प्रदर्शनकारीले रोकेका थिए । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए । मन्त्री र सुरक्षाकर्मीलाई गाडीबाट ओर्लिएपछि युवाहरूले मन्त्रीको गाडीमा आगनजी गरेका हुन् ।
आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
ग्वार्कोस्थित इपीएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।
पढ्नुहोस्, यो पनि :
मन्त्रीलाई झारेर आन्दोलनकारीले यसरी लगाए गाडीमा आगो [फोटो फिचर]