३० जेठ २०८३, शनिबार

'मन्त्रीको गाडीमा आगो लगाएपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा २ जनाको ज्यान गएका हो'

पुस १३, २०८०
काठमाडौं
'मन्त्रीको गाडीमा आगो लगाएपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा २ जनाको ज्यान गएका हो'

जिल्ला प्रहरी परिसर, ललितपुरले बालकुमारी घटनाबारे स्पष्टीकरण दिँदै मन्त्रीको गाडीमा आगो लगाएपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको छ । 

शुक्रवार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाबारे विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

एसपी कार्कीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि नै ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा सहभागिताको विषयलाई लिएर २५ सयदेखि ३ हजार जना भेला भएका थिए ।

त्यसैक्रममा ईपीएस कार्यालयबाहिर परीक्षार्थीहरूले सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेको उनको भनाइ छ । 

प्रहरीमाथि ढुंगामुढा गर्दा डीएसपी उमेश लम्साल, प्रहरी सहायक हवल्दार सुशील सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीतर्फ पनि चार जना घाइते भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रहरी घाइते भएपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको र सो क्रममा २ जनाको ज्यान गएको उनले बताएका छन् ।

‘प्रहरीले आक्रोशित भीडलाई तोडफोड आगजनी नगर्न सम्झाइबुझाइ गर्दा नमानेकोले सामान्य बल प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआइ टियर ग्यास, रबर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेबार बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको हो,’ विज्ञप्तिमा उल्लेख छ । 

आन्दोलनकारीले शुक्रवार अपरान्ह भौतिक, पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर टायरमा ढुंगाको ओट लगाएका थिए । त्यसपछि हावा फुस्काएर गाडी तोडफोड र आगजनी गरेका थिए । 

यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्दा अछाम चौरपाटी गाउँपालिका–१ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको ज्यान गएको थियो ।

प्रवक्ता कार्कीले सो क्रममा ७३ जनालाई नियन्त्रणमा दिइएको पनि जानकारी दिएका छन् ।

null
 

salt training

कमेन्ट गर्नुहोस्