२७ जेठ २०८३, बुधबार

सर्लाहीमा युवाको मृत्यु प्रकरण : स्वास्थ्य चौकीको विवादले यसरी गयो जयशंकरको ज्यान

पुस २०, २०८०
काठमाडौं
सर्लाहीमा युवाको मृत्यु प्रकरण : स्वास्थ्य चौकीको विवादले यसरी गयो जयशंकरको ज्यान

प्राथमिक स्वास्थ्य चौकीको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई लिएर झडप हुँदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बरहथवा नगरपालिका–५ मा रहेको स्वास्थ्य चौकी​ स्तरोन्नति कसले गर्ने भन्ने विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए ।

‘हिजैदेखि स्वास्थ्य चौकीको विषयलाई लिएर विवाद शुरू भएको थियो,’ सहायक सीडीओ घिमिरेले लोकान्तरसँग भने । ​​

उनकाअनुसार नगरपालिकाले गर्ने कि प्रहरीको हस्ताक्षरमा स्थानीयहरूले स्तरोन्नति गर्ने भन्ने विषयमा विवाद भएको थियो ।

हिजोदेखि विवाद भएपछि शुक्रवार बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो । तर दिउँसो विवाद हुँदा झडप भएपछि प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको उनको भनाइ छ।

प्रदर्शनकारीहरूले बरहथवा–६ का जयशंकर साहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको बताएका छन् । तर प्रदेश प्रहरी कार्यालयले उनको के कारणले मृत्यु भएको हो भन्ने विषयमा एकीन नभएको बताएको छ ।

‘प्रहरी कै गोलीबाट मृत्यु भएका हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने विषयमा अझै खुलेको छैन', मधेश प्रदेशका प्रवक्ता एसपी श्यामकुमार महतोले लोकान्तरसँग भने ।

उनकाअनुसार बिहानैदेखिको स्थितिबारे जानकारी भएर प्रहरीले सुरक्षा दिँदै आएको थियो ।

शुक्रवार साँझसम्म पनि स्थानीयले प्रदर्शनलाई जारी राखेपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन भोलि बिहानसम्मका लागि कर्फ्यू लगाएको छ ।

झडपमा प्रहरीसहित ७ जना घाइते भएका छन् । 

सहायक सीडीओ होमप्रसाद घिमिरेकाअनुसार स्थानीयहरूले मृतकलाई घेरेर राखेका छन् । ‘अहिले स्थानीयहरूले शवलाई घेरेर राखेका छन् । त्यसैले आधिकारिकरुपमा पहिचान हुनसकेको छैन, तर मृत्यु भएको चाहिँ हो,’ सहायक सीडीओ घिमिरेले लोकान्तरसँग भने ।

उनले घटनास्थलको बाहिरी वातावरण नियन्त्रणमा आएको दावी गरे ।

‘बाहिरको स्थिती नियन्त्रणमा आइसकेको छ । तर शव भएको ठाउँमा प्रहरी पुग्न सकेको छैन, त्यहाँको स्थिति नियन्त्रणमा आइसकेको अवस्था छैन,’ घिमिरेले भने ।

बरहथवा नगरपालिका प्रमुखको घरमा र नगरपालिकाको भवनमा आन्दोलनकारीहरूले क्षति पुर्‍याएका छन् । अहिले पनि नगर प्रमुख कल्पनाकुमारी कटुवाल कार्यालय भित्रै रहेको सहायक सीडीओ घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्