०३ असार २०८३, बुधबार

लास भेगासमा ५९ मानिस मार्ने स्टिफन प्याडक को हुन् ?

कात्तिक २०, २०७४
लास भेगासमा ५९ मानिस मार्ने स्टिफन प्याडक को हुन् ?

काठमाडौं, १७ असोज — अमेरिकाको लास भेगासको एक अग्लो होटल भवनको ३२औं तल्लाबाट अन्धाधुन्ध गोली चलाएर स्टिफन प्याडकले ५९ जनालाई मारेका छन् ।


आइतवार राति एक संगीत समारोहमा भेला भएका मानिसहरूमाथि यसरी गोली बर्साउने प्याडकको कुनै आपराधिक इतिहास वा आतंकवादी संगठनसँगको आबद्धता नदेखिएको अधिकारीहरूले बताएका छन् ।

प्याडकले मान्डले बे रिजोर्ट र क्यासिनोमा भेला भएका मानिसमाथि किन अनायास गोली चलाए र पछि आत्महत्या गरे भन्ने कुरा कानून कार्यान्वयन अधिकारीहरूले बताउन सकेका छैनन् ।

अमेरिकी इतिहासकै सबभन्दा ठूलो आमहत्या गराउने प्याडक एक कुख्यात बैंकचोरका छोरा हुन् । तर उनले आफैं चाहिँ यसअघि कुनै अपराध गरेको रेकर्ड भेटिन्न । त्यसो त उनले यो घटना गराउनका लागि बनाएको मिहिन योजना हेर्दा चाहिँ उनको आपराधिक दिमागका बारेमा पत्ता लाग्छ ।

प्रहरीका अनुसार, उनी होटेलको विशाल सुइटमा धेरै दिनदेखि बसिरहेका थिए र उनले कुनै पनि शंकास्पद व्यवहार देखाएका थिएनन् । तर उनले २३ वटा बन्दुक चाहिँ राखेका रहेछन् । कुनै बन्दुकमा त टेलिस्कोप जडान समेत गरिएको रहेछ ।

एउटा बन्दुक त एके–४७ कै प्रकारको राइफल थियो र त्यसको स्ट्यान्ड पनि त्यहीँ थियो । उनले कुनै पनि चेतावनी नदिइकनै फायर खोलेका थिए । अग्लो ठाउँमा बसेर खुल्ला स्थानमा भेला भएका मानिसलाई लक्षित गर्दै उनले गोली प्रहार गर्दा पनि धेरै हताहती हुन पुगेको थियो ।

अपराधको अनुसन्धानलाई नेतृत्व गरिरहेका लास भेगास प्रहरीका शेरिफ जोसेफ लोम्बार्दोले भने, ‘म एक बौलाहाको दिमागमा के चलिरहेको छ भन्न सक्दिनँ ।’

अनुसन्धानकर्ताहरू सोमवार प्याडकको घर पुगेका थिए । त्यहाँको सीसीटीभी क्यामरा फूटेज तथा अन्य विद्युतीय उपकरणको समीक्षा गरेर प्याडक कसरी यस्तो आमहत्या गर्न प्रेरित भए भन्ने कुराको अनुसन्धानमा जुटेका छन् ।

उनीहरूले तयार पारेका प्रश्न यस्ता छन् ः कसरी जुवाको लत लागेको एक पूर्वलेखापालले स्वचालित हतियार प्राप्त गरे ? कसरी उनी यो र अन्य धेरै हतियार लास भेगासको होटेल सुइटमा कसैले थाहा नपाउनेगरी ल्याउन सफल भए ?

द वाशिङटन पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्