
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन् ।
झापा–३ मा पछिल्ला दुई निर्वाचनमा लिङ्देनसँग पराजय व्यहोरेका सिटौला सहजै माथिल्लो सदनमा पुग्नेमा ढुक्क छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा साढे १० बजेको समय मागेका थिए । तर, उनी निकटकै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुजीले ‘शून्य’ समय बनाउँदा राम्रो हुँदैन भनेपछि उनले १० बजेर २१ मिनेटमा मनोनयन दर्ता गराएका थिए । ‘साढे १० को समयमा मनोनयन दर्ता गराउँदा शनिको दशा छ भनेपछि उहाँले अगाडि नै दर्ता गराउनुभएको हो,’ कांग्रेसका एक नेताले भने, ‘गठबन्धन एक ढिक्का भएन भने राष्ट्रियसभा पुग्ने सम्भावना कमजोर हुँदैन भन्न सकिँदैन ।’ कांग्रेसभित्र कोशीमा भएको विद्रोहको डर अहिले पनि रहेको नेताहरू बताउँछन् ।