
श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ (साविक मैदी गाविस वडा नम्बर ९)का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन् ।
उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १, बेलहियाबाट सोमवार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत धदिङमा बुझाइएको छ ।
प्रहरीका अनुसार दवाडीले विसं. २०५९ फागुन २८ गते अंशसम्बन्धी विषयमा झगडा हुँदा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी हत्या गरेका थिए । सूर्यबहादुरले सानुमायालाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुण्ड्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । हत्यापछि शवलाई बुढी गण्डकी दोभानमा लगी जलाएर उनले अन्त्येष्टि समेत गरेका थिए।
कर्तव्य ज्यान मुद्दामा उनलाई धादिङ जिल्ला अदालतको २०६१ जेठ ५ गतेको सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर तत्कालीन पुनरावेदन अदालत पाटनले उक्त फैसला उल्टाइदिएको थियो ।
पछि सर्वोच्च अदालतले २०६७ माघ ३ गते जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।