३१ असार २०८३, बुधबार

युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

माघ ३, २०८०
काठमाडौं
युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

कोपनहेगन– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । 

डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सम्वद्ध सङ्घसंस्थालाई आग्रह गरे ।

‘नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोमेन्ट (आरआईभीएम)का अनुसार नेदरल्यान्डसले अहिले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणमा भइरहेको वृद्धिलाई कम गर्न सम्भावित प्रयासहरूलाई अगाडि बढाएको छ ।

इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न सङ्क्रमणहरू अहिले नेदरल्याण्ड्सको जनसङ्ख्यामा ‘सामान्य’ भएको आरआईभीएमले जनवरी १० सम्मको आफ्नो पछिल्लो अपडेटमा जनाएको छ । आरआईभीएमले चिसोजन्य समस्याका कारण सङ्क्रमण भएकोजस्ता लक्षण देखिएका व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको बताएको छ ।
दुई हप्ता पहिले प्रति एक लाखमा २७ जनाले चिसोजन्य सङ्क्रमणको गुनासो लिई चिकित्सकीय सेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरेकोमा गत हप्ता प्रति एक लाखमध्ये ४४ मा यो समस्या देखिएको रिपोर्टमा उल्लेख छ ।

आरआईभीएमका अनुसार हालैको तथ्याङ्कले इन्फ्लुएन्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ । तथ्याङ्कमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिहरूको लगभग ३५ प्रतिशत नमूनाहरूमा सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । अघिल्लो हप्ता यो दर १३ प्रतिशत रहेको थियो । 

इटालीका स्वास्थ्यकर्मीहरूले गत शुक्रबार इटालीमा कम्तीमा १५ वर्षयताकै सबैभन्दा खराब फ्लु लहरका कारण अस्पतालहरू चर्को दबाबमा रहेको बताएका छन् । इटालियन फेडेरेसन अफ हेल्थ अथोरिटीज एन्ड हस्पिटल्स (एफआईएएसओ)का अनुसार गत साता आपतकालीन कक्षमा भर्ना हुनेको सङ्ख्या २० देखि ३० प्रतिशतले बढेको छ ।  

नयाँ वर्षको सुरुवातदेखि नै कोभिड–१९ र फ्लुको सङ्क्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागू गरेको छ । स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा तीव्र वृद्धि भएको छ र बासिन्दाहरूमा सङ्क्रमण दर प्रति एक लाखमा ९५२ भन्दा बढी पुगेको छ । स्वास्थ्यमन्त्री मोनिका गार्सियाले गत हप्ता ‘चिसोजन्य सङ्क्रमण अत्यधिक भएको चेतावनी दिएका थिए । 

मङ्गलवार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसङ्ख्यालाई कोभिड–१९ र इन्फ्लुएन्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताएका छन् । उनले सन् २०२० को डिसेम्बरमा कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्वपूर्ण सफलता मिलेको पनि बताए । 

‘डब्ल्यूएचओ यूरोपको नेतृत्वमा गरिएको नयाँ अध्ययनले सुरक्षित र प्रभावकारी कोभिड–१९ खोपका कारण हाम्रो क्षेत्रमा कम्तीमा १४ लाख मानिसको ज्यान जोगिएको देखाएको छ,’ डब्ल्यूएचओेका अर्का अधिकारीले भने ।

डब्ल्यूएचओको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ, खोपले ९० प्रतिशतभन्दा बढी ज्यान बचाएको छ । सन् २०२० को डिसेम्बरमा खोप प्रयोग शुरू भएयता डब्ल्यूएचओको यूरोपेली क्षेत्रमा कोभिड–१९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ र पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ ।    

यद्यपि, क्लुजले कोभिड–१९ जेएन–१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गरे । 

क्लुजले भने, ‘गम्भीरता बढेको सङ्केत गर्ने प्रमाणको अभावका बावजुद, जेएन–१ संस्करणको अनिश्चितताको लागि निरन्तर निगरानीको आवश्यकता छ । हाम्रो क्षेत्रका १३ देशले गत साता श्वासप्रश्वाससम्बन्धी भाइरससम्बन्धी कुनै तथ्यांक सार्वजनिक गरेका थिएनन् । उत्परिवर्तन होस् वा नयाँ भाइरस, श्वासप्रश्वाससम्बन्धी अप्रत्याशित जिबाणुको नियन्त्रणका लागि निगरानी हाम्रो पहिलो प्रतिरक्षा प्रणाली हो ।’

salt training

कमेन्ट गर्नुहोस्