०७ साउन २०८३, बिहीबार

विभागीय टोली आर्मीलाई बागमतीले हरायो, सूर्य तामाङले लिए ५ विकेट

माघ ३, २०८०
काठमाडौं
विभागीय टोली आर्मीलाई बागमतीले हरायो, सूर्य तामाङले लिए ५ विकेट

प्रधानमन्त्री कप मेन्स क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले बलियो विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ ।

घरेलु क्रिकेटमा विभागीय टोलीको दबदबा तोड्ने क्रममा बागमतीले आर्मीलाई ३ विकेटले पराजित गरेको हो ।

राष्ट्रिय टीमका खेलाडीहरूले भरिएको आर्मी सूर्य तामाङको बलमा धरासायी बन्दै ९७ रनमा समेटिन पुग्यो ।

उसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८, भीम सार्कीले १८ र विवेक यादवले अविजित ११ रनको योगदान गरे ।

कुशल मल्ल र सोमपाल कामीले रनको खाता नै खोल्न सकेनन् ।

९ ओभर बलिङ गरेका तामाङले २ मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट लिए ।​ प्रतिश जिसी र रिजन ढकालले २/२ तथा किर्जन गुरुङले १ विकेट हात पारे ।

९८ रनको झिनो लक्ष्य बागमतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

बागमतीलाई जीतसम्म डोहोर्‍याउने क्रममा प्रतिश जिसी र अशोक पौडेलले समान २१, रविन जोशी र इशान पाण्डेले १२-१२ तथा विपिन आचार्यले १० रनको योगदान गरे।

आर्मीका लागि सोमपाल कामीले ३ तथा जितेन्द्र मुखिया र शहाब आलमले २-२ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्