१० साउन २०८३, आइतबार

प्रधानमन्त्री कपः लगातार तेस्रो जीतसँगै सुदूरपश्चिम शीर्ष स्थानमा

माघ ४, २०८०
बुटवल
प्रधानमन्त्री कपः लगातार तेस्रो जीतसँगै सुदूरपश्चिम शीर्ष स्थानमा

गण्डकी प्रदेशलाई १०८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हात पार्न सफल छ । लगातार तेस्रो जीतसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

बिहीवार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २०१ रनको बलियो योगफल बनाएको थियो । 

सुदूरपश्चिमको जीतमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन जोड्न सफल भए । यस्तै, नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए ।

एक समय ७२–६ को दयनीय अवस्थामा पुगेको सुदूरपश्चिमलाई खेलमा फर्काउन सातौं विकेटका लागि नारायण र किरणले ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

आठौं विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरे । दुई साझेदारीले सुदूरपश्चिमलाई जीतको आधार तय गरेको हो । सुदूरपश्चिमका शेर मल्लले १९, राजु रिजालले १६, टेक रावतले १५ र  नरेन साउदले १३ रन बनाए । बलिङमा गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ तथा कमल परियार र अमृत गुरुङले समान २–२ विकेट लिए ।

जवाफमा जीतका लागि २०२ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रनमा अलआउट हुन पुग्यो । गण्डकीका आश्विानी रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टीमले हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न सुदूरपश्चिमका शेर मल्लले ८.२ ओभरमा १ मेर्डनसहित २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, गजेन्द्र बोहराले २, भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान १–१ विकेट लिए ।

सुदूरपश्चिमले यसअघि कर्णालीलाई १३४ रन र लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै जित निकालेको थियो । गण्डकी भने कर्णालीसँग ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । 

बिहीवारको जीतसँगै सुदूरपश्चिम ३ खेलमा ६ अंकसहित अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । एपीएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्