
दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिम्मेवारी खोसेर सर्वोच्च अदालतमा तानिएको २१ महिनापछि उनले शुक्रवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।
आफूले शुक्रवार नै राजीनामा गरेको भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
‘शुक्रवार नै राजीनामा गरेको हुँ, स्वीकृत होला नहोला,’ भट्टराईले भने, ‘२१ महिनादेखि काजमा तानिएको थियो । स्वास्थ्य अवस्थाका कारणले पनि राजीनामा दिए ।’ सर्वोच्च प्रशासनले पनि राजीनामाको पुष्टि गरेको छ ।
भट्टराईसहित ३ जना जिल्ला न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा छानबिन आयोग गठन भएको थियो र आयोग गठन भएसँगै न्यायाधीश स्वतः निलम्बनमा परेका थिए ।
२०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न पंकज भनिने दामोदर चौधरीलाई आजीवन कैद सजाय माग गरिएकोमा २०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए ।
सो घटनाबारे लोकान्तर डट्कमले खोज गरेको थियो । लोकान्तरमा समाचार आएपछि कारबाहीस्वरुप न्यायाधीश काजमा तानिएका थिए ।
पढ्नुहोस् लोकान्तरले गरेको खोजः