
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन बी’को प्रयोग गरिएकाले नखान आग्रह गरेको छ ।
विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौं विभिन्न स्थानका सडक पेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने खालका अखाद्य रङ रोडामाइन बीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताए ।
उनले खुलारुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गरे ।
विभागले अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत सबैलाई अनुरोध गरेको छ । ‘कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ ।
कान्ति बाल अस्पतालका निर्देशक डा. पङ्कज रायले कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताए । उनका अनुसार कटन क्यान्डीले दाँतमा कीरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।