२२ असार २०८३, सोमबार
सहकारी ठगी

सहकारी ठगी प्रकरणः जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

माघ १३, २०८०
काठमाडौं
सहकारी ठगी प्रकरणः जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

सहकारी ठगीका फरार अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ ।

राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले लोकान्तरलाई शनिवार जानकारी दिए । 

सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा राईविरुद्ध डिफ्युजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केही समयअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

त्यसकै आधारमा इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले डिफ्युजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको प्रवक्ता ढकालले बताए ।

राई गोरखा मिडिया नेटवर्कका कार्यकारी अध्यक्ष हुन् । सोहीबाट सञ्चालित ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक रहेका राईमाथि आफैँ अध्यक्ष रहेको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिनाको आरोप लागेको छ ।

उनीमाथि कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

यो मुद्दा अहिले जिल्ला अदालत कास्कीमा विचाराधीन छ । उनीविरुद्ध रकम सहकारी ऐन र मुलुकी अपराधसंहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।  

यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पनि नाम जोडिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्