
भोलि (सोमबार) देशभरका फिल्म हल बन्द हुने भएका छन् ।
मूल्य अभिवृद्धिबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै हल संचालकले फिल्म हलहरू बन्द गर्ने भएका हुन् । नेपाल चलचित्र संघले केही दिन अगाडि एक दिनका लागि साङ्केतिक रुपमा फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिएको थियो ।
चलचित्र संघको निर्णयमा समर्थन जनाउँदै क्यूएफएक्स सिनेमाजले पनि भोलि हल बन्द रहने जानकारी दिएको छ ।
क्यूएफएक्सले आइतवार आफ्नो साइटमा भनेको छ, ‘सरकारले अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसाय धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिकरुपमा विरोधस्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएका हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौं ।’
क्यूएफएक्सले दर्शकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । साथै, सबैबाट सहयोगको आशा समेत राखेको जनाएको छ ।