
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।
जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा आइतवार बसेको सचिवालय बैठकले तत्काल संघीय सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले बताए । 'तत्काल सरकारबाट नबाहिरिने निर्णय गरिएको छ', प्रवक्ता यादवले लोकान्तरसँग भने ।
मधेश प्रदेशमा सरकारबाट बाहिरिएपछि संघीय सरकारबाट पनि मन्त्री फिर्ता बोलाउने भन्ने विषयमा आशंका उत्पन्न रहेको बेला अहिले मन्त्री फिर्ता नबोलाउने निर्णय भएको हो ।
जनमतबाट अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् ।
पार्टी प्रवक्ता डा. यादवका अनुसार पार्टीले आगामी जेष्ठ १५ गते गणतन्त्र दिवसमा काठमाडौंमा वृहत् आमसभा गर्ने भएको छ ।
बैठकमा अध्यक्ष राउतले आगामी राजनीतिक रणनीतिको बारे पस्ताव पेश गरेका छन् ।
देशमा प्रधानमन्त्री, निर्वाचन आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तदेखि आयुक्तसम्म, महालेखा परीक्षकहरू प्रत्यक्ष निर्वाचित हुने पर्ने प्रणालीसहितको शासकीय स्वरूप कायम हुनुपर्ने राउतले प्रस्तावना पेश गरेको यादवले बताए ।
त्यसै गरी संसद्मा ह्विप नलाग्ने, ४/५ नेताहरूको सिन्डिकेट र तानाशाही अन्त्य गर्न पार्टीविहीन जनप्रतिनिधि हुनुपर्ने प्रस्ताव समेत राउतले गरेका छन् ।