
काठमाडौं, २० असोज — नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा गरेको गठबन्धनले देशलाई फेरि अर्को चरणको राजनीतिक अनिश्चितताको भुमरीमा धकेलेको दी इन्डियन एक्सप्रेसको शुक्रवारको सम्पादकीयमा छापिएको छ ।

‘यो घटनाक्रमबाट नयाँ दिल्ली चिन्तित हुनुपर्छ किनकि विभिन्न कम्युनिस्ट गुटहरूलाई एकै ठाउँमा उभ्याउनमा चिनियाँ प्रभावले काम गरेको आशंका छ,’ सम्पादकीयमा लेखिएको छ, ‘गठबन्धनको प्रभावशाली दल एमाले बेइजिङनिकट रहेको बुझिन्छ ।’
सम्पादकीयमा थप लेखिएको छ, ‘गठबन्धनको विषयमा राखिएको गोप्यता नेपालको लोकतान्त्रिक प्रक्रियाका लागि राम्रो संकेत हैन । दलहरूको विस्तार, तिनीहरू प्रायः टुक्रिने अनि राजनीतिक वर्गले सत्ताकब्जाका लागि गठबन्धन बनाउने र टुक्य्राउने कामले सरकार अस्थिर बनाइरहन्छ अनि लोकतान्त्रिक संक्रमणको विश्वसनीयतालाई कमजोर बनाउँछ ।’
यो गठबन्धन निर्माण प्रक्रियामा राजनीतिक विचारधाराको साम्य भन्दा पनि शक्तिप्राप्तिका लागि एक हुल नेता एकै ठाउँमा उभिएजस्तो देखिन्छ, सम्पादकीयमा लेखिएको छ । यो गठबन्धनले जनतामा विश्वासको वातावरण बनाउन सक्ने सम्भावना नरहेको पनि सम्पादकीयमा उल्लेख छ ।