२३ असार २०८३, मंगलबार

कर्मचारी कोटामा छोरालाई विदेश पठाएपछि खानेपानी मन्त्रीलाई सतर्कता केन्द्रको स्पष्टीकरण

माघ २३, २०८०
काठमाडौं
कर्मचारी कोटामा छोरालाई विदेश पठाएपछि खानेपानी मन्त्रीलाई सतर्कता केन्द्रको स्पष्टीकरण

​कर्मचारी कोटामा छोरा सुनिल अधिकारी (यादव)लाई विदेश भ्रमणमा पठाएका खानेपानी मन्त्री महिन्द्रराय यादवलाई राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोधेको छ ।

मन्त्री यादवका छोरा सुनिल गत माघ ३ देखि ८ गतेसम्म कर्मचारी कोटामा मन्त्रालयका कर्मचारी​सँगै भारतको उडिसा प्रदेश पुगेका थिए । मन्त्री यादवले सुनिललाई उपसचिव सरहको सेवा सुविधामा स्वकीय सचिव नियुक्त गरेका छन् ।

केन्द्रले खानेपानी मन्त्रालयलाई स्पष्टीकरण सोध्दै ७ दिन भित्र जवाफ पेश गर्न पत्र काटेको छ ।

केन्द्रका प्रवक्ता कृष्णप्रसाद पन्थका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ र राष्ट्रिय सतर्कता केन्द्रको कार्य सञ्चालन नियमावली, २०६५ को नियम ५ बमोजिम खानेपानी मन्त्रालयसँग विवरण माग गरिएको हो ।

'कार्यक्रम आयोजक तथा प्रायोजकको विवरण, आमन्त्रण गरिएको आमन्त्रित कर्मचारीहरूको विवरण तथा उक्त निकाय/संस्थाद्वारा प्राप्त पत्र, भ्रमणका लागि मनोनयन भएका कर्मचारीहरूको निर्णय गरिएको विवरण, मन्त्रालय तथा मातहत कार्यालयबाट भ्रमणमा सहभागी भएका कर्मचारीहरूको विवरण माग गरेका छौं', पन्थले लोकान्तरसँग भने ।

कर्मचारीको कोटामा मन्त्रीका पीए, स्वकीय सचिव, सल्लाहकारहरू समेत विदेश भ्रमणमा जान लागेपछि त्यस्ता भ्रमणमा नपठाउन भन्दै केन्द्रको सचिव स्तरीय निर्णय गरी सबै मन्त्रालयहरूमा परिपत्र गरिएको थियो । तर, उक्त परिपत्रका विपरीत खानेपानी मन्त्री यादवले आफ्ना पीए छोरालाई भारत भ्रमणमा पठाएका थिए । ​

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, विभागका दुई जना सीडीईहरू रवीन्द्र पोखरेल र रतिश ओझासँगै मन्त्रीका छोरा (स्वकीय उपसचिव) सुनिल पनि भारत भ्रमणमा गएका थिए ।​

यूएन हेबिट्याटले प्रायोजन गरेको तथा उडिसा प्रदेश सरकारले आयोजना गरेको ’इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एण्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा भाग लिन मन्त्रीपुत्रसहितको उक्त टोली भारत भ्रमणमा गएका थिए।​

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्