
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्ना सेवालाई अझ प्रभावकारी बनाउन लघुवित्त वित्तीय संस्थालाई आग्रह गरेका छन् । आठवटा वित्तीय संस्थाले मंगलवार आयोजना गरेको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’मा उनले यस्तो आग्रह गरेका हुन् ।
बैंकमा पहुँच नपुगेका गरिब तथा विपन्नको पहुँच लघुवित्तमा रहेको बताउँदै उनले कमीकमजोरी भए सुधार गरेर अघि बढ्न आग्रह गरे ।
‘गरिबभन्दा गरिब व्यक्तिले यसमा पहुँच पाउँछन्,’ उनले भने, ‘त्यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ ।’
६० लाख महिलासँग जोडिएको लघुवित्तको सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
‘कल्पना गरौँ आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे, कसरी बस्थे ?,’ उनले भने,‘ यसैले लघुवित्त यो देशमा चाहिन्छ भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ ।’
नेता कोइरालाले उद्यमशीलता विकासका लागि लघुवित्तले विनाधितो प्रवाह गर्ने ऋणलाई बढावा दिनुपर्ने पनि बताए । उनले उद्यमशीलता विकाससँगै बजारको व्यवस्थापनमा पनि सहजीकरण गरिदिन आग्रह गरे ।