आइसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारत भिड्ने भएका छन्। पहिलो दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानलाई हराउँदै अस्ट्रेलियाले फाइनलमा पुगेको हो । घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले निर्धारित ओभरको ५ बल बाँकी हुँदै ९ विकेट गुमाएर जीत पक्का गरेको हो ।
पाकिस्तानका दुई जना खेलाडीले अर्धशतक बनाउँदा अर्का एक जनाले मात्रै दोहोरो अंकमा रन बनाएका थिए । अजन अविस र अराफात मिनासले ५२-५२ रनको अर्धशतकीय पारी खेले ।
शेइमल हुसेनले १७ रन जोडेका थिए । अस्ट्रेलियाका टम स्टार्करले सर्वाधिक ६ विकेट लिँदै पाकिस्तानको पारि ध्वस्त पारे ।
अस्ट्रेलियाका लागि ओपर हेरि डिक्सनले ५० रन बनाए । मिडिल अर्डरमा लगातार विकेट गुम्दा केही समय अस्ट्रेलिया धर्मराएको थियो । ओलिभर पिकले ४९ तथा टम काम्पबेलले २५ रन बनाए ।
४६ औं ओभरमा पाकिस्तानका अलि राजाले २ विकेट लिएपछि खेल रोमाञ्चक बनेको थियो । उनले सर्वाधिक ४ विकेट लिए । भारत र अस्ट्रेलियाबीचको फाइनल खेल आइतबार हुने छ ।