२३ जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

चौधरीलाई चोख्याउने खेल सुरु, टीकापुर जग्गा घोटालामा अख्तियारको एक्सन

माघ २६, २०८०
काठमाडौं
चौधरीलाई चोख्याउने खेल सुरु, टीकापुर जग्गा घोटालामा अख्तियारको एक्सन

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रालिलाई पत्र काट्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा आउन भनेको हो । चौधरी ग्रुपले हडपेको जग्गा फिर्ता ल्याउने नाममा उनलाई चोख्याउने खेल सुरु भएको टीकाटिप्पणी सुरु भएको छ । 

कम्पनी रजिस्ट्रारको कार्यालयले च्याम्पियन फूटवेयरलाई दिएको प्रमाणपत्रमा विनोद चौधरी, लुनकरणदास चौधरी, अरुण चौधरीलगायत ७ जना सञ्चालक थिए । सरकारी जग्गा ‘च्याम्पियन फूटवेयर’को नाममा ल्याउन भूमिका खेल्ने व्यक्तिचाहिँ विनोद चौधरी थिए । कम्पनी दर्ताको प्रमाणपत्रको दोस्रो नम्बरमा विनोदको नाम छ । यद्यपि सीआईबीले अरुण चौधरी यो प्रकरणमा पक्राउ परेर रिहा भएपनि अनुसन्धान जारी नै रहेको जनाएको छ । 
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास जमितिको जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगर विकास समितिका तत्कालीन अध्यक्ष  लगायतका पदाधिकारीविरुद्ध बिहीवार अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

भ्रष्टाचार आरोप लाग्नेमा नापी र मालपोत अधिकृतसहित ६ जना कर्मचारी छन् । उनीहरूमाथि पदाधिकारीसँगको  मिलेमतोमा नक्कली रसिद बनाइ विकास समितिका प्लट घडेरी आफन्तको नाममा सारेको आरोप लगाइएको छ । तत्कालीन नापी अधिकृत मानबहादुर चन्दविरुद्ध एक करोड ९० लाख ३२ हजार १३६ रुपैयाँ जरिवाना र कैद माग गरिएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बिहीवार उनीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेको थियो । सो अवसरमा उनले भने, ‘सङ्घीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस् ।’
००००
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँच जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई बिहीवार प्रहरीले सार्वजनिक गरेको हो ।
००००
सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को बिहीवारको बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
००००
सशस्त्र प्रहरी बलका १०० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ  ।  
सशस्त्र प्रहरीले बिहीवार देशैभरका जिल्ला प्रमुखहरू सरुवा गरेको हो । समयअवधि पुगेका एसपीहरूको सरुवा गरेको सशस्त्र प्रवक्ता एसएसपी राजेन्द्र खड्काले लोकान्तरलाई जानकारी दिए ।
००००
सुन जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी रुगम कुँवरसँग बयान लिएको छ । ६० केजी सुन तस्करी विषयमा सीआईबीले जीवन चलाउनेलाई बयान लिएर छाडेको भन्दै कुँवरसँग बयान लिएको हो ।

डीएसपी कुँवर सीआईबीको मुद्दा शाखाका प्रमुख हुन् । ६० केजी सुन प्रकरणमा बेल्जियम नागरिक दावा छिरिङसँग कुराकानी भएको प्रमाण भेटिएपछि सीआईबीले चलाउनेलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग बिहीवार बयान लिएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयको पुरानो भवनमा रहेको कार्यालयमा बिहीवार आयोगले महरासँग झण्डै डेढ घण्टा बयान लिएको हो ।
००००
कोशी प्रदेश सरकार र पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिबीच वर्ता भएको छ । बिहीबारको  वार्ता सकारात्मक भएको बताइएको छ । 
००००
मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर(कानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सीजी चाँदबाग स्कूललाई राष्ट्रियकरण गर्न माग गरेको छ ।
००००
सत्ता गठबन्धनका शीर्ष नेताहरूले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।
००००
एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडाविरुद्ध पराजयको नजिक पुगेर पनि नेपालले रोमाञ्चक जीत दर्ता गरेको छ । तीन खेलको सिरिज अन्तर्गत कीर्तिपुरमा भएको पहिलो खेलमा घरेलु टोली नेपालले क्यानडाविरुद्ध रोमाञ्चक ७ रनको जीत दर्ता गरेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्