
गृह मन्त्रालयले प्रहरी समायोजनका लागि समिति बनाउने भएको छ।
उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले आज अध्यागमन विभागको कार्यक्रममा प्रहरी समायोजनका लागि समिति बनाउन लागेको जानकारी दिएका हुन् । ‘प्रहरी समायोजनको घोषणा गर्ने र समायोजन प्रकृया अगाडि बढाउने तयारीमा छौं’, गृहमन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले नेपाल प्रहरी ऐनको विधेयक तयार भएको र अबको संसद्मा प्रस्तुत गर्न लागेको बताए । ‘प्रहरी समायोजन ऐनको विधेयक तयार भएको छ, मन्त्रिपरिषद्मा पठाएर यही संसद्मा हामीले पठाउँदै छौं', मन्त्री श्रेष्ठले भने । प्रहरी समायोजन ऐनमा शंसोधन र परिमार्जन गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।
उनका अनुसार निर्वाचन विधेयकको काम अन्तिम चरणमा पुगेको छ भने सशस्त्र प्रहरी ऐनका लागि विधेयक तयारी भइरहेको छ ।
मन्त्री श्रेष्ठले राज्यले लिएको सुशासनको नीतिका लागि देशमा भएको ठूला–ठूला काण्डहरूको अनुसन्धान गरेको बताए । उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डका अपराधीहरूलाई जेलसम्म पुर्याएको बताए ।
‘सरकारी जग्गा फिर्ता ल्याउन अहिले प्रकृया अगाडि बढेको छ । बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा हत्याउने व्यक्ति र उनीहरूका संस्थालाई अनुसन्धानको दायरामा ल्याउछौं', मन्त्री श्रेष्ठले भने ।