१० साउन २०८३, आइतबार

बादीका भीरको सडक ढलान भएपछि...

माघ २८, २०८०
काठमाडौं
बादीका भीरको सडक ढलान भएपछि...

बेनी–धवलागिरि गाउँपालिका–७ बादीकाको भीरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर  प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् ।

धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग हुने दरबाङ–धारापानी सडकखण्डको बादीकाको भिरमा सडक ढलान र नाली निर्माणसहित स्तरोन्नति भएपछि धारापानीवासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्डअन्तर्गत दरवाङबाट धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि शनिबार उद्घाटन गरिएको छ ।

दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नति गरिएपछि स्थानीयवासीले गाउँमा नाचगान गरेर खुसीयाली मनाएको स्थानीय रिमप्रकाश थापाले बताए । ‘बाँदर दगुर्ने भिरमा अहिले मोटर गुड्ने सडक बनेको छ, एक दशक बढी समयदेखि जीर्ण र जोखिमपूर्ण तवरले सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता अहिले हटेको छ,’ उनले भने ।

विसं २०६७ मा जिल्ला विकास समितिको रु २० लाख र सांसद विकास कोषबाट रु आठ लाख ५० हजारसहित स्थानीयवासीको चन्दा सङ्कलनबाट रु एक करोड ९२ लाख रकम जुटाएर दरवाङबाट सिवाङसम्मको सडकको ट्रयाक निर्माण भएको थियो । समुदायको चन्दा र सहयोगबाट निर्माण भएको सडक सरकारी तवरबाट ढलान र ग्राभेलसहित स्तरोन्नति भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

null

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन गरेको यस सडक आयोजनाअन्तर्गत रु १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो । 

सडकको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गरेका छन् । उनले विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै धवलागिरि गाउँपालिकाका अधिकांश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति हुँदा समग्र गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने योजनालाई समेत निर्धारित समयमै कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजनाअन्तर्गत दरबाङ–धारापानी खण्डको सडक फराकिलो, साँघुरा घुम्तीलाई चौडा, ढलान, नाली निर्माण, ग्याबियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी सात मिटर चौडाइमा सडक ग्राभेल गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिए ।

निर्माण कम्पनीका प्रतिनिधि प्रधुम्न कुँवरले कोरोनाका कारण समयमा काम सम्पन्न गर्न समस्या भए पनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेकोे बताए । सडक स्तरोन्नति भएपछि साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । -रासस
 

salt training

कमेन्ट गर्नुहोस्