नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
अध्यक्ष सिग्देलले यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रुपमा रु आठ हजार पाँच सय भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १ः३० निर्धारण गरिएको बताए । उनका अनुसार विभिन्न सरोकारवाला सङ्घसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु ३० लाख खर्च हुने अनुमान गरिएको छ ।