२४ असार २०८३, बुधबार
क्षमताभन्दा बढी यात्रु बोकेको जीप दुर्घटना

१३ जना अट्ने क्षमता भएको जिपमा २७ सवार, १० जनाको मृत्यु [दुर्घटना अपडेट]

फागुन २, २०८०
बुटवल
१३ जना अट्ने क्षमता भएको जिपमा २७ सवार, १० जनाको मृत्यु [दुर्घटना अपडेट]

पाल्पाको तिनाउ गाउँपालिकामा क्षमताभन्दा बढी यात्रु बोकेको यात्रुबहाक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएकोमा २ जनाको उपचारका क्रममा ज्यान गएको हो । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । १३ सिट क्षमताको जिपमा २७ जना यात्रु सवार थिए । 

दुघटनामा मृतक र घाइते सबैको पहिचान खुलेको छ । मृत्यु तथा घाइते हुने अधिकांश स्थानीय मस्यामको चिदिस र सिखरडाँडा गाउँका छन् । 

ज्यान गुमाउनेमा तिनाउ–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले बताए । 

यस्तै, लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामी, पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ख्याहाकै दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका ५ दिलमाया जीसीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको थियो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको श्रेष्ठले बताए ।  

घाइतेहरूमा ८ महिला, ४ बालक, ३ बालिका र २ पुरुष जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३६ दिने बालकसहित १७ जनाको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुलीले बताए । दुर्घटनाग्रस्त जीप घुम्तीदेखि झण्डै १५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्