०२ साउन २०८३, शनिबार
४० प्रतिशत बजार हिस्सा गुम्यो

मूल्यान्तरले संकटमा डीडीसीः गोदाममा थन्कियो दूध र नौनी, किसानको ३० करोड भुक्तानी बाँकी

फागुन ३, २०८०
विराटनगर
मूल्यान्तरले संकटमा डीडीसीः गोदाममा थन्कियो दूध र नौनी, किसानको ३० करोड भुक्तानी बाँकी

निजी डेरी उद्योगहरूको तुलनामा आफ्ना उत्पादनको मूल्य महँगो भएपछि दुग्ध विकास संस्थानअन्तर्गतको विराटनगर दुग्ध विकास आयोजनाले झण्डै ४० प्रतिशत बजार हिस्सा गुमाएको छ । मूल्यान्तरकै कारण पछिल्लो तीन महिनायता मात्र डीडीसी बिराटनगरले खुद्रा बजारको ठूलो हिस्सा गुमाएको हो ।

बजार मागको अनुपातमा दूधको उत्पादन बढी भएपछि कोशी प्रदेशमा सञ्चालित निजी डेरी उद्योगहरूले दूधको उपभोक्ता मूल्य घटाएका थिए । सरकारले किसानसँग न्यूनतम ६५ रुपैयाँ प्रतिलिटरका दरले दूध खरिद गर्ने निर्णय गरेसँगै गतवर्ष दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो । 

त्यसपछि बजारमा दूधको माग क्रमशः घट्दै गएको थियो भने किसानले दूध उत्पादन बढाएका थिए । बजारमा उत्पादन बढ्ने र माग घट्ने अवस्था भएपछि मंसिर १ गतेबाट लागू हुनेगरी निजी डेरी उद्योगहरूले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएका थिए । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पुरानै मूल्यमा उत्पादन बिक्री गरिरहेको छ ।

निजी डेरीभन्दा डीडीसीको दूध महँगो भएपछि विराटनगर दुग्ध वितरण आयोजनाको बजार पछिल्लो तीन महिनामा ४० प्रतिशतले घटेको छ । गत कात्तिक महिनासम्म डीडीसी विराटनगरले दैनिक ८ देखि ९ हजार लिटर दूध बजारमा बिक्री गर्दै आएको थियो ।

तर, अहिले दैनिक ३ हजार लिटरभन्दा बढीले दूधको बिक्री घटेको छ । मुस्किलले पाँच हजार लिटर दूध बजारमा बिक्री गर्दै आइरहेको डीडीसीले जनाएको छ । दैनिक २५ देखि ३० हजार लिटर दूध संकलन गरिरहेको आयोजनाले बजार विस्तार गर्नुकोका साटो अझ गुमाउँदै जाने अवस्था बनेको हो । विराटनगर दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख परमेश्वर चौधरीले निजी डेरी उद्योग र डीडीसीबाट उत्पादित वस्तुको मूल्यमा अन्तर हुँदा बजारमा असर परेको बताए । 

डीडीसीले खुद्रा बजार गुमाउँदै गएपछि दही, पनिर र नौनीको मूल्य घटाएको थियो तर, दूधको मूल्य भने यथावत् नै राखेको छ । दही, पनिर र नौनीको मूल्य घटाएपछि बजार गिरावट हुने दरमा कमी आएको भए पनि निजी डेरीको उत्पादनको तुलनामा महँगो हुँदा प्रतिस्पर्धा गर्न भने गाह्रो छ । 

डीडीसीले दूध बिक्री गरेका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुम आदि जिल्लाका दूध उत्पादक किसानहरूलाई ६ महिनादेखि भुक्तानी दिन सकेको छैन  । दूध बिक्री गरेको रकम आधा वर्षसम्म भुक्तानी नपाएपछि किसानहरू मार्कामा परेका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले ६ महिनामा करिब ३० करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।  

दूध संकलन बढी हुने तर, बजार घट्दै जाने अवस्थाका कारण दुग्ध विकास संस्थानमा धूलो दूध र नौनी घ्युको मौज्दात निरन्तर बढ्दै गएको छ । विराटनगर आयोजनामा अहिले ५० हजार किलो (५० टन) पाउडर दूध र १ लाख ५० हजार किलो (१५० टन) बटर गोदाममा थन्किएका छन् । 

दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार संस्थानसँग यतिबेला ९ लाख किलो (९०० मेट्रिक टन) पाउडर दूध र ६ लाख किलो बटर मौज्दात छ । प्रतिकिलो एक हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने धूलो दूध र नौनी घिउ ठूलो परिमाणमा मौज्दात राख्नुपर्दा डीडीसीले आर्थिक समस्या झेल्नु परेको उनले बताए । 

सूचना अधिकारी राजेन्द्रप्रसादले भने ‘अब जाडो महिना सकिँदै गएकोले गर्मी लागेसँगै दूधदूधबाट बनेका वस्तुहरू दही, आइसक्रिम आदिको बिक्री बढ्ने र दूधको उत्पादन तुलनात्मकरूपमा घट्ने भएकोले मौज्दात व्यवस्थापन गर्न धेरै समस्या नहोला ।’ 

त्यसबाहेक बिस्कुट, पाउरोटी आदि उद्योगहरूलाई स्वदेशी पाउडर दूध प्रयोग गर्ने वातावरण बनाउन सक्दा पनि धूलो दूधको खपत बढ्नसक्ने डेरी उद्योग सञ्चालकहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्