
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमै अलआउट भएको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ८६ बल खेलेका सार्कीले दुई चौका र एक छक्का प्रहार गरे ।
गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका लागि गेर्हार्ड इरास्मसले पाँच विकेट लिए । यस्तै, रुबेन ट्रम्पेल्मेन र ज्याक ब्रासेललले दुई/दुई विकेट लिए ।
२०२७ मा हुने क्रिकेट विश्वकपमा छनोटको प्रक्रियाअन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज शुरू भएको हो । लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।
शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै, ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ ।