
आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ मा नेपालले हारबाट आफ्नो यात्रा शुरू गरेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार घरेलु टोली नेपाल आफ्नो पहिलो खेलमा नै नामिबियासँग ४ विकेटले पराजित भएको हो ।
नेपालले ब्याटिङमा आवश्यक प्रदर्शन गर्न नसक्दा हार ब्यहोर्नुपरेको छ । नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको थियो । यो लक्ष्य नामिबियाले ६ विकेटको क्षतिमा ३१.१ ओभरमै १३४ रन बनाएर सजिलै पूरा गर्यो ।
नामिबियाका लागि जान फ्राइलिन्सले सर्वाधिक ३४ रन बनाए । जान निकोल लोफ्टी–इटोनले अविजित ३१ रन जाेडे ।
नेपालले बलिङमा पनि खराब शुरूवात गरेको थियो । अन्त्यतिर भने बलरहरू लयमा आएका थिए ।

यस क्रममा सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा कप्तान रोहित पौडेलले १ विकेट लिए पनि यो नेपालको जीतका लागि पर्याप्त भएन ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रनमै अलआउट भएको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ८६ बल खेलेका सार्कीले दुई चौका र एक छक्का प्रहार गरे ।
गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए । यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाका लागि गेर्हार्ड इरास्मसले ५ विकेट लिए । यस्तै, रुबेन ट्रम्पेल्मेन र ज्याक ब्रासेलले २–२ दुई विकेट हात पारे ।
२०२७ मा हुने क्रिकेट विश्वकपमा छनोटको प्रक्रियाअन्तर्गत बिहीवारदेखि काठमाडौंमा पहिलो सिरिज शुरू भएको हो । लिग– २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका रहेका छन् ।
आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टीम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् । पुछारका ४ टीमले प्लेअफ खेल्नुपर्नेछ ।
शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै, नेपालले ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।