१० साउन २०८३, आइतबार

निर्वाचन आयोगले दलहरूलाई दियो १५ बुँदे निर्देशन

फागुन ३, २०८०
काठमाडौं
निर्वाचन आयोगले दलहरूलाई दियो १५ बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूको नाममा १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दलहरूलाई विधान, पार्टीका नाम, झण्डा, छाप, पदाधिकारी, सदस्य, पार्टीको हिसाबसहितका विषयप्रति सचेत गराउँदै १५ बुँदे निर्देशन दिएको हो । 

आयोगले फागुन ४ गतेको निर्णयअनुसार बिहीवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

आयोगले दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएको भए ३० दिनभित्र जानकारी गराउन भनेको छ । 

आयोगले दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समितिलगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा योग्यता पुगे नपुगेको निर्क्योल गर्न र सदस्यता वितरणको अद्यावधिक गर्न पनि भनेको छ । यस्तै नियुक्ति र मनोनयन समावेशी सिद्धान्तअनुसार गर्न, दलको संघीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने पनि भनेको छ । 

विधानको संशोधन गरी सोही व्यवस्था बमोजिम केन्द्रीय कार्यकारिणी समितिलगायत अन्य समितिहरूको हेरफेर गरी विधानको संशोधन र केन्द्रीय कार्यकारिणी समितिको अद्यावधिक गर्न एकैपटक आयोगमा पेश नगर्न पनि आयोगले निर्देशन दिएको छ । 

यस्तै आयोगबाट अद्यावधिक भएपछि मात्र त्यसका आधारमा केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकका लागि पेश गर्न पनि भनेको छ । 

आयोगले आधुनिक नेपाल समाजवादी पार्टीलाई मौका दिएको जनाएको छ । 'सो पार्टीले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले आयोगबाट जरिवाना गर्ने निर्णय भएको तर साे जरिवाना हालसम्म पनि नबुझाएकाले बुझाउन एकपटक मौका दिइएको छ,' आयोगले भनेकाे छ ।

अब पनि जरिवाना नबुझाएमा कानूनबमोजिम दल दर्ता खारेजको प्रक्रिया अगाडि बढाउने चेतावनी आयोगले दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्