
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फेर्न सकिने भएपनि विधान सम्मेलनको हलबाट निष्कर्षमा पुग्नु वस्तुवादी नहुने बताएका छन् । पार्टीको नाम फेरेपनि नेकपा शब्द छाड्न नसकिने उनले बताए ।
काठमाडौंमा भएको पहिलो विधान अधिवेशनमा प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले पार्टीहरूबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने बताएका हुन् ।
‘पार्टीको नामबारे साथीहरूले सुझबुझ तरिकाले विषय राख्नुभएको छ । मुख्य कुरा पार्टीको पहिचान हो । नाम पहिला अनेक भए । कहिले मसाल, एकीकृत माओवादी, नेकपा चौम थियौँ । नाम आवश्यकताअनुसार बदल्ने हो । देशको हितमा के हुन्छ त्यही गरिन्छ । चुनाव चिह्न पनि फेर्न नसकिने कुरा होइन । तर, जसरी मनलाग्यो त्यसरी फर्ने पनि होइन,’ जवाफमा उनले भनेका छन्, ‘नामको विषयमा केही समयअगाडि कार्यालयको बैठकले अरु पार्टीसँग एकताको सन्दर्भमा कुरा चलिरहँदा नेकपा शब्द छाड्न सकिँदैन तर, त्यसपछि समाजवादी, समाजवादी केन्द्र राख्न सकिन्छ । फेरि पनि पार्टीहरूबीच एकता हुने भयो भने त्यतिबेला नामका बारेमा सोच्न वा फेर्न सकिन्छ । यही हलबाट नाम फेर्ने निष्कर्ष निकाल्नु वस्तुवादी हुँदैन ।’
विधान अधिवेशनले केन्द्रीय समितिको संख्या १९९ बनाउने निर्णय गरेको छ । अधिवेशन बिहीवार समापन हुँदैछ ।