
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएका छन् । फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकका लागि तयार गरिएको प्रस्तावलाई केन्द्रीय समितिमा पेश गर्दै थापाले महाधिवेशनको कार्यतालिका अगाडि सारेका हुन् ।
थापाले २०८१ साउन मसान्तसम्म पार्टीको विधानमा संशोधन गर्ने विषयमा पार्टीका सबै तहबाट सुझाव संकलन तथा छलफल गर्न प्रस्ताव गरेका छन् । २०८१ साल असोजमा विधान अधिवेशन गर्नुपर्ने प्रस्ताव उनको छ ।
२०८१ साल कात्तिक महिनाभित्रमा पारित विधान र क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउन प्रस्ताव गरिएको छ ।
यस्तो छ अधिवेशन तालिका
थापाले प्रस्ताव गरे अनुसार २०८१ मंसिर १५ गतेभित्र देशभरका ६७४३ को वडाको अधिवेशन गर्नुपर्ने बताइएको छ । यही महिनाको मंसिर मसान्तभित्र गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न प्रस्ताव गरिएको छ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८२ साल भदौ मसान्तभित्र गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ । प्रतिनिधि सभा क्षेत्रका १६५ क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमिति सदस्यको टुंगो २०८२ भदौ मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।
७७ जिल्लाको अधिवेशन २०८२ असोजभित्र, विदेशस्थिति नेपाली जनसम्पर्क समितिको अधिवेशन यही वर्षको असोजभित्र, ७ वटा प्रदेशको अधिवेशन कात्तिक मसान्तभित्र र केन्द्रीय महाधिवेशन २०८२ मंसिरभित्र गर्न थापाले प्रस्ताव गरेका छन् ।
कांग्रेसको विधान अनुसार ४ वर्षमा नियमित महाधिवेशन हुनुपर्ने हुन्छ ।
२०७८ मंसिरमा भएपछि २०८२ मंसिरभित्र नियमित महाधिवेशन गर्नैपर्ने संवैधानिक व्यवस्था छ । तर, विशेष कारण देखाएर समय थप्न पाउने विधानको व्यवस्थालाई देखाउँदै कांग्रेसका सभापतिहरूले निर्धारित समयमा महाधिवेशन गराउने गरेका छैनन् ।
थापा पहिलोपटक महामन्त्री भएपछि भने उनले महासमिति बैठकमा पेश गर्ने गरी केन्द्रीय समितिमा यस्तो कार्यतालिका पेश गरेका हुन् ।
उपसभापति पूर्णबहादुर खड्काको मूल प्रस्ताव, महामन्त्री गगन थापाको संगठनात्मक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावबारे केन्द्रीय समितिमा छलफल गरी महासमिति बैठकका लागि फाइनल प्रस्ताव तयार गरिनेछ ।