०४ साउन २०८३, सोमबार

गगन थापाले संसद्‌मा प्रचण्डलाई सोधे - अर्थतन्त्र सुधार्न बाँकी समयमा के फरक गर्दै हुनुहुन्छ ?

फागुन ६, २०८०
काठमाडौं
गगन थापाले संसद्‌मा प्रचण्डलाई सोधे - अर्थतन्त्र सुधार्न बाँकी समयमा के फरक गर्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चालू आर्थिक वर्षको ६० प्रतिशत समय गुज्रिँदा हुन नसकेको काम बाँकी समयमा कसरी पूरा हुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । देशको अर्थतन्त्रको सूचकांक सकारात्मक भन्ने सरकारको दलिल आंशिक मात्र सत्य भएको उनले टिप्पणी गरे ।

आइतवार प्रतिनिधि सभामा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस महामन्त्री थापाले बाँकी समयमा राजश्वको लक्ष पूरा हुने र पूँजीगत खर्च हुने आधारबारे प्रश्न गरेका हुन् । ‘नेपालको अर्थतन्त्रको सूचकांक सकारात्मक भन्ने दलिल या दाबी आंशिक सत्य मात्र छ । विदेशी विनिमय सञ्चिति बढ्यो भनेर पत्याउने अवस्था छैन । सरकारले के गर्‍यो ? जसले विप्रेषण बढेको होस’, थापाले भने, ‘आयात घट्दा र बजार शिथिल भएर विदेशी सञ्चिति बढेको हो ।’

महामन्त्री थापाले राजश्व नउठ्नु अर्थ प्रशासनको मात्र नभई मन्त्रिपरिषद्को क्याप्टेनको नाताले प्रधानमन्त्रीको समेत सरोकारको विषय भएको बताए ।

‘चालू आर्थिक वर्षको ६० प्रतिशत समय सकिँदै गर्दा ४० प्रतिशत राजश्व उठेको र मुश्किलले २१ प्रतिशत पूँजीगत खर्च भएको छ । आर्थिक वर्षको बाँकी रहेको समयमा त्यस्तो के फरक गर्दै हुनुहुन्छ जसको कारणले अहिलेको राजश्व उठ्छ, खर्च हुन्छ ? के नयाँ नियम कानुन, नीति या नियतमा बदलाव कसरी ल्याउनु हुन्छ ? केही नयाँ गर्दै हुनुहुन्छ भने ७ महिनासम्म त्यो गर्न किन रोकिएको थियो ? के ले गर्दा रोकेको थियो ?’ 

जवाफमा प्रधानमन्त्री प्रचण्डले कतिपय परिसूचक सकारात्मक रहँदा रहँदै अर्थतन्त्र पूर्णरुपमा चलायमान नभएको स्वीकार गरे । बैंकिङ क्षेत्रमा तरलता अभाव र बैंकको ब्याजदर उद्योगी व्यापारीले धान्न नसकिने अवस्थामा रहेको भए पनि अहिले अर्थतन्त्र त्यस खालको संकटबाट मुक्त भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

हरेक मन्त्रालयसँग दिनहुँ जसो समाधानमुखी छलफल गरिरहेको प्रचण्डले दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्