![मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा अखिलको मसाल जुलुस [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/aniraswabiu_e8DV3XkUYn.jpg)
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ ।
बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै अनेरास्ववियुका विद्यार्थी नेताहरूले काठमाडौंको त्रिचन्द्र कलेजमा बुधवार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । जुलुसमा अध्यक्ष समिक बडाललगायत नेता सहभागी थिए ।
उनीहरूले मन्त्री ज्वालाका कारण अनाहकमा नेपाली युवाको ज्यान गएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै मन्त्री उनीविरुद्ध चर्का नारा लगाए । यसबीचमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । ईपीएसको परीक्षा फारम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री ज्वाला सवार गाडी प्रदर्शनकारीले जलाएका थिए ।
त्यसलगत्तै सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालाले गरेको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालिएको छ ।

यसअघि एमालेले पनि ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्न संसद्मा माग गरेको थियो । ज्वाला एमालेबाटै फुटेको दल नेकपा (एकीकृत समाजवादी)का नेता हुन् ।