०६ असार २०८३, शनिबार

खेलकुद विकास समिति विवाद : जनप्रतिनिधिले नै लगाए मेयर र अधिकृतको कार्यकक्षमा ताला

फागुन १४, २०८०
बुटवल
खेलकुद विकास समिति विवाद : जनप्रतिनिधिले नै लगाए मेयर र अधिकृतको कार्यकक्षमा ताला

रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

सोमवार बिहान हुल दंगा गर्दै नगरपालिका पुगेका नगरकै जनप्रतिनिधिले उनीहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरूले प्रशासकीय अधिकृत सापकोटाको नेमप्लेट, टेबुल, सिसालगायतका सामग्री तोडफोड गरेका छन् ।

आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका सापकोटालाई उनीहरूले हातपातको समेत प्रयास गरेका थिए । तर नगर प्रहरीले उनीहरूलाई रोकेको थियो ।

मेयर खरेल र सापकोटाविरुद्ध नाराबाजी गर्दै दुवै जनाको कार्यकक्षमा तालाबन्दी गरेपछि अवस्था तनाबग्रस्त बन्न पुगेको थियो ।

कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक भएको बताए ।

मेयर खरेलले नगर खेलकुद विकास समितिमा कमल पाण्डेलाई नियुक्त गरेपछि कांग्रेसले एमालेबाहेक अन्य पार्टीलाई समितिको नेतृत्व दिनुपर्ने भन्दै विवाद सृजना गरेको थियो ।

वडा नम्बर–४ का वडा अध्यक्ष दमननाथ रेग्मीले मेयर र हाकिमको शैली पक्षपात पूर्ण भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

‘वडाअध्यक्ष र केही जनप्रतिनिधिको असहमति हुँदाहुँदै प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानुपर्ने ठाउँमा नगर प्रमुख र उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्यहरूबीच द्वन्द्व सृजना गराए कोरम नपुग्दा-नपुग्दै घर-घरमा गएर हस्ताक्षर गराए नगरसभा सञ्चालन गरिएपछि आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको हो’, रेग्मीले भने ।​

null

देवदहका मेयर र उपमेयर दुवै जना एमालेबाट निर्वाचित हुन् ।

तालाबन्दीले नगरको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । ७ जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधि आन्दोलित भएका छन् ।

मेयर खरेलले जनप्रतिनिधि नै पालिकाका मेयर र अधिकृतको कार्यकक्षमा तोडफोड गर्दै तालाबन्दी गर्ने कार्य सह्य नहुने बताए ।

‘पटक-पटक छलफल गरियो । कांग्रेसका नेतासँग छलफल गरियो । मुढे बलले हुने भए मेयर हाकिम किन चाहियो ? हामी अधिकार क्षेत्रबाहिर गएर काम गरेको भए सजाए भोग्न तयार छौं । यस्तो कार्य स्वीकार्य छैन’, मेयर खरेलले भने, ‘आफूले भनेको मान्छे बनाउन पाइएन । नगरप्रमुखको क्षेत्राधिकार भित्रको काम जवरजस्ती काम गर्न नदिने वातावरण सृजना भएपछि बाध्य भएर खेलकुद विकास समिति गठन गरिएको हो । भएको निर्णय तलमाथि हुँदैन ।'

एमाले नगर इन्चार्ज याम रानाले वडाअध्यक्ष र कार्यपालिका सदस्यले अत्यन्त अभद्र र उदण्ड शैलीमा गरेको तालाबन्दी तथा तोडफोड सार्वभौमसत्ता र जनताबाट निर्वाचित जनप्रतिनिधिमाथिको प्रहार भएको बताए ।

आन्दोलित जनप्रतिनिधिले नदीजन्य पदार्थ चोरी तस्करीका टेम्टर जेसीबी कारवाही गर्नुको साटो मिलेमतोमा छाडिएको, शिक्षक कर्मचारी नियुक्ति पारदर्शी नभएको, कार्यपालिकाको निर्णयविना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शीर्षकमा रकम बाँडेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्