२१ जेठ २०८३, बिहीबार

संसद् भवन परिसरबाट पक्राउ परेका ४९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

फागुन १५, २०८०
काठमाडौं
संसद् भवन परिसरबाट पक्राउ परेका ४९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

सोमवार संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अदालतले मंगलवार उनीहरूलाई ७ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । 

प्रहरीले पक्राउ परेका ४९ जनालाई शान्ति सुरक्षा खल्बल्याएको कसूरमा मुद्दा चलाउने तयारी गरेको छ । ‘पक्राउ परेकाहरूलाई निषेधित क्षेत्र तोडेको र शान्तिविरुद्धको कसूरमा मुद्दा चलाउने तयारी गरिरहेका छौं,’ एसएसपी खत्रीले लोकान्तरसँग भने ।​​

बानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो । समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

बानेश्वरको घटनाका बारेमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले साँझ सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका थिए ।

मन्त्री श्रेष्ठले गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख रुद्र पण्डित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेका थिए ।

सभामुख देवराज घिमिरेले पनि प्रहरीलगायतका सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर यस विषयमा ब्रिफिङ लिएका छन् ।

सोमवार दिउँसो निषेधित क्षेत्र पार गर्दै ४८ जना महिला र एक पुरुष संसद् भवन परिसरमा प्रवेश गरेर प्रदर्शन गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको छ ।​​

लघुवित्त पीडितहरू संसद् भवन छिरेपछि मंगलवार संसद् भवन र सिंहदरबार परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पक्राउ परेकालाई निषेधित क्षेत्रमा प्रदर्शन गरेर शान्ति खल्बल्याएको कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्