
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ ।
प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेश हुने जानकारी दिइन् ।
सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेश गर्ने निर्णय गरेको उनको भनाइ छ
'हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ', प्रवक्ता अर्यालले भनिन् ।
यसअघि प्रदेश मामिला तथा कानून समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित थियो ।
प्रदेश सभाका कानून अधिकृत कुमार रिजालले दिउँसो २ बजे प्रदेश सभा बैठक शुरू हुने जानकारी दिए ।
कार्य व्यवस्था परामर्श समिति बसेर बैठकको कार्यसूची तय गर्ने उनको भनाइ छ ।