
दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल बराबरीमा सकिएको छ । इंलिस प्रिमियर लिगअन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेल १-१ को बराबरीमा सकिएको हो ।
बराबरीसँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन् । खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा सिटीले खेलमा अग्रता बनाएको थियो ।
दोस्रो हाफको सुरुवातमै लिभरपुलले पेनाल्टीमार्फत् बराबरी गर्ने अवसर पायो । पेनाल्टीमा एलेक्सिस मक्यालिस्टरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।
बराबरीपछि आर्सनल पहिलो स्थानमा यथावत रहेको छ । आर्सनलको २८ खेलमा ६४ अंक छ । समान २८ खेलमा ६४ अंक नै रहेको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो छ । सिटीको भने २८ खेलमा ६३ अंक छ ।