३० जेठ २०८३, शनिबार

‘पागल’ भनेर तिरस्कार गरिएकाहरू सामान्य जीवनमा फर्कंदै

कात्तिक २०, २०७४
‘पागल’ भनेर तिरस्कार गरिएकाहरू सामान्य जीवनमा फर्कंदै

काठमाडौं, २४ असाेज – केही समयअघिसम्म काठमाडौंको सडक र गल्लीमा फोहोर शरीर, जिङरिङ्ग कपाल, झुत्रे कपडा लगाएर फोहोर कुरा गर्दै हिँड्ने मानसिक सन्तुलन गुमाएका महिलाहरू सामान्य जीवनतिर फर्कन प्रयासरत रहेका छन् ।

snehi-kakh-6
हनुमानढोकाबाट उद्धार गरिएकी एक महिला अघि र पछि

ललितपुरको थसिखेलमा रहेको ‘नेपाल स्नेही काख’मा रहेका मानसिक सन्तुलन गुमाएका पाँच महिलाहरू सामान्य जीवनमा फर्कन प्रयासरत छन् । स्नेही काखले थसिखेलस्थित खाली जग्गामा जस्ताको टहरामुनि मानसिक सन्तुलन गुमाएकाहरूलाई स्याहार गर्दै नियमित औषधि, खानेबस्ने सबै ब्यवस्था मिलाएको छ ।

snehi-kakh-1

सडकबाट मैलो अवस्थामा ल्याइएका तिनीहरूलाई नुहाउन लगाएर, कपाल काटेर र नयाँ कपडा लगाएर जीवनमा परिवर्तन ल्याउँदैछ । मानसिक समस्याबाट सुधार हँुदै गरेका महिलाहरू आफ्नो नाम समेत यही हो भनेर किटेर भन्न असमर्थ छन् तर कापी कलम दिएर केही लेख्न लगाउँदा भने सामान्य विद्यार्थीझंै राम्रो अक्षरमा धेरै कुरा लेख्न जान्दछन् उनीहरू ।

snehi-kakh-7
उद्धार गर्नुपूर्व सडकमा एक महिला

snehi-kakh-8उद्धारपछि स्नेही काखमा लेख्दै

काठमाडौंको हनुमानढोकाबाट उद्धार गरेर नेपाल स्नेही काखमा पु-याइएकी अन्दाजी २०/२२ वर्षकी जस्ती देखिने एक महिला शुरूमा ल्याउँदा एकदमै फोहोरी र कसैसँग नबोल्ने खालकी थिइन् । अहिले उनी सफाचट देखिन्छिन् ।

snehi-kakh-9

उनको अवस्थामा सुधार आउँदै जाँदा बास्केटबल खेल्नदेखि साथीहरूसँग गफिन उनी खुबै रमाएको देखिन्छिन् । चिकित्सकले उनलाई निको हुन गाह्रो छ भनेपनि त्यहाँ रहेका अरूभन्दा छिटो छिटो प्रगति भइरहेको नेपाल स्नेही काखका अभियन्ता नेहा पोखरेलले बताइन् ।

snehi-kakh-10

भर्खर स्नेही काखमा ल्याइएकी एक ४० बर्षीय तामाङ महिलालाई मेरी नाम दिइएको छ । उनीसँग दोहोरो कुराकानी गर्न गाह्रो छ । कुनै कुरा सोध्दा पनि अर्कोतिर फर्केर हाँसीमात्र राख्छिन् । स्नेही काखको आँगनमा डुलेर एक्लै त्यसै हाँसिरहने बानी छ उनको ।

snehi-kakh

उनलाई ललितपुरको हात्तीवनबाट उद्धार गरेर स्नेही काखमा ल्याएकी हुन् । उनको अवस्थामा पनि क्रमशः सुधारका लक्षणहरू देखिँदैछन् । १७/१८ वषर्की झंै देखिने नाम बिर्सेकी एक महिलालाई मूलपानीबाट उद्धार गरिएको थियो । उनी नौलो मान्छे देख्नेबित्तिकै निकै डराउँछिन् । पढाईमा निकै तीक्ष्ण देखिने उनको अंग्रेजी लेखाई राम्रो छ । उनी सामान्य विद्यार्थीझैं आफ्नो सबै कुरा अंग्रेजीमा लेखेर दिन्छिन् ।

snehi-kakh-5

अर्की ५०/५५ वर्षकी झैं देखिने एक महिला कुराकानी गर्न निकै बाठी देखिन्छिन् । खुट्टाको समस्याका कारण सिधा उभिन गाह्रो हुने उनलाई अहिले उठ्दै हिँड्न थालेको देख्न सकिन्छ । चार वर्षदेखि नियमित औषधोपचार र रेखदेखमा रहेकी ३५ वर्षीया सिर्जना तामाङ भने सामान्य भइसकेकी छिन् । काठमाडौंको बालुवाटारबाट उद्धार गरिएकी ती महिलाले लोकान्तरसँग आफ्नो बारेमा खुलेरै कुरा गरिन् ।

snehi-kakh-4

उनले आफ्नो जन्मघर काभ्रेको भूमिडाँडामा रहेको बताइन् । उनले सानो हुँदा घरबाट लुकीलुकी श्री कुशादेवी माविमा कक्षा चारसम्म पढेकी थिइन् । उनले आफ्नो नाम र ठेगाना भने नेपाली अक्षरमा प्रस्टै लेखेर दिइन् ।

snehi-kakh-3काभ्रे भुमिडाँडाकी सिर्जना तामाङ

सानो उमेरमा बिहे भएका उनले निकै कष्ट सहनुप-यो । सिर्जनाका श्रीमानको जण्डिस बिग्रेर मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी धादिङको छत्रेदेउरालीमा छन् । सिर्जनालाई घर फर्केर आफ्ना छोराछोरीसँगै सामान्य जीवन बिताउने रहर छ । घाँटीमा भएको गलगाँडका कारण भने उनी अहिले कष्ट भोगिरहेकी छिन् ।

snehi-kakh1

स्नेही काखका नेहा पोखरेल,रमिला पोखरेल,प्रसादी प्रसाद,संगीता राई, दृष्टि र सोनमले मानसिक सन्तुलन गुमाएका ती महिलाहरूको स्याहारमा लागेका छन् । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई सामान्य जीवनमा फर्काउने कठिन तर पवित्र काममा उनीहरू प्रयासरत छन् ।

snehi-kkakh2

‘समाजले पागल भनेर तिरस्कार गरेका दिदीहरूको जीवनमा परिवर्तन ल्याउन पाउँदा हामीलाई सन्तुष्टि लागेको छ,’ स्नेहीकी अभियन्ता नेहाले भनिन्, ‘उपचार गरे मानसिक रोग लागेकाहरू पनि निको हुन्छन् ।’

snehi-kakh-2उद्धार गरिएकी महिलाहरुका वीचमा स्नेही काखकी अभियन्ता नेहा पोखरेल लगायत अन्य अभियन्ता[/caption]

पवित्र उद्देश्यसहित स्नेही अभियानमा लागेका अभियन्ताहरू मानसिक सन्तुलन गुमाएकाहरूलाई पागल भनेर तिरस्कार गर्ने गलत परम्परा मेटाउन लागिरहेका छन् । ‘मानसिक समस्यामा परेकाहरूलाई हेला र तिरस्कार होइन, स्नेह चाहिएको छ, उनीहरू सामान्य जीवनमा फर्किन सम्भव छ,’ नेहाले भनिन् ।

अर्काइभबाट : सन्दर्भ विश्व मानसिक स्वास्थ्य दिवस

salt training

कमेन्ट गर्नुहोस्