काठमाडौं, २४ असोज– बालुवाटारकी अनु मल्ललाई दुई वर्षअघि श्रीमानप्रति शंका लाग्ने, मनमा डर लाग्ने र आत्महत्याको भावना आउन थालेपछि त्रि.वि शिक्षण अस्पतालमा उपचारका लागि पुगिन् । अस्पतालमा चेकजाँच गर्दा डिप्रेसनको रोग रहेको चिकित्सकले बताएपछि मल्लले दुई वर्षसम्म नियमित रूपमा डिप्रेसनको औषधि सेवन गरिन् ।
नियमित औषधि सेवनले डिप्रेसन रोग निको भएको मल्लले लोकान्तरलाई बताइन् । ‘श्रीमान् अर्कै केटीसँग बोल्छन् भनेर शंका थियो । दुईजना बच्चा छन् । श्रीमानले अर्कै बिहे गर्ने पो हो कि भनेर मनमा डर लाग्न थाल्यो, मर्न मन समेत लाग्थ्यो । अस्पताल आएपछि थाहा भयो डिप्रेसनको समस्या रैछ’ डिप्रेसनबाट मुक्त मल्लले भनिन्, ‘डिप्रेसनको औषधि दुई वर्ष खाएपछि अहिले ठीक भएको छ । अहिले कुनै नराम्रो सोच आउँदैन । श्रीमानले पनि राम्रो व्यवहार गर्नुहुन्छ । परिवारमा राम्रो भयो भने पनि मानसिक समस्या निको हुने रैछ ।’

काठमाडौको टिचिङ अस्पतालमा डिप्रेसन भएको आशंकामा उपचारको लागि आएकी नानू थापालाई पनि भोक नलाग्ने, आत्महत्याको भावना आउने समस्या देखिएको थियो । उपचारका लागि टिचिङको मानसिक स्वास्थ्य विभागको उपचार कक्षमा पालो कुरीरहेकी थापाले लोकान्तरलाई भनिन् । ‘मनमा डर, चिन्ताको भावना आउँछ । भोक लाग्दैन, मर्न मन लाग्छ, के भएको होला भनेर डर पनि लाग्छ’ उनले डाक्टरलाई आफ्नो व्यथा सुनाउँदै थिइन् ।
टिचिङ अस्पतालमा मनोरोगको समस्या लिएर उपचारको लागि आउने बिरामीको चाप बढ्दै गएको त्रि.वि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख तथा वरिष्ठ मनोरोग विशेषज्ञ डा. सरोज ओझाले लोकान्तरलाई बताए । ‘टिचिङमा मात्रै दैनिक एक सय जनाको हाराहरीमा बिरामीहरू उपचारको लागि आउने गरेका छन् । जसमध्ये १० प्रतिशत बिरामीहरू कडा खालका मानसिक रोगी छन्’ उनले लोकान्तरसँग भने ।
विश्व स्वास्थ्य संगठनले सन् १९९२ देखि हरेक वर्षको अक्टुबर १० तारिकलाई मानसिक स्वास्थ्य दिवसको रुपमा मनाउँदै आएको छ । यसवर्ष ‘कार्य क्षेत्रमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
उद्योग तथा कार्यलयमा कार्य गर्दा कर्मचारीले काम गर्ने क्रममा झेल्नुपर्ने मानोवैज्ञानिक तनावले उत्पन्न हुने मानसिक समस्यालाई कम गर्न चेतना जगाउने उदेश्यले सो नारा तय गरिएको डा. ओझाले जानकारी दिए ।
मानसिक स्वास्थ्य भएमात्र काम गर्न सकिने भएकाले कार्यक्षेत्रमा राम्रो र स्वास्थ्य मनोवैज्ञानिक वातावरण बनाउने उद्देश्यले यस वर्षको दिवस मनाइन लागेको उनले बताए ।
नेपालमा कडा खालका मानसिक समस्यालाई मात्रै रोगको रुपमा लिने गरेको डा. ओझाले बताए । ‘अझै पनि मानिसहरूले कडा खालको रोगलाई मात्रै मानसिक रोग भन्ने गर्छन् । मानिसको बुझाइ मानसिक रोग भनेको जीवनभर औषधी खानुपर्ने, केही गर्न नसक्ने भन्ने छ, जुन गलत हो ।’
कडा खालको मानसिक रोगीमा देखिने लक्षण– अनौठो व्यवहार गर्ने,
– नभनेको कुरा सुन्ने,
– असामान्य व्यवहार गर्ने ।
सामान्य खालको मानसिक रोगमा देखिने लक्षण– मन डराउने, उदासिपन बढ्ने,
– भिडभाडमा जान बोल्न डराउने,
– निद्राको समस्या हुने,
– लामो समय सम्म टाउको दुख्ने ।
नेपालमा ५० लाख मनोरोगी, ८० प्रतिशत बिरामी उपचार बाहिरमानसिक रोग धेरै किसिमको हुने भएकाले समयमा उपचार गरेमा यो रोग निको हुने डा. ओझाको भनाइ छ । नेपालमा यति नै मानसिक रोगीहरू छन् भनेर यकिन तथ्याङ्क नै छैन । यसक्षेत्रमा कार्यरत संस्थाहरूका अनुसार भने नेपालमा ५० लाख मनोरोगी रहेको अनुमान छ ।
नेपालीहरूमा अझै पनि मानसिक स्वास्थ्य समस्यालाई नकारात्मक रुपमा लिने गरिएको डा. झाको भनाइ छ । ‘नेपालीहरूले मानसिक स्वास्थ्य समस्या देखिएमा जीवनभर औषधि खानुपर्छ, रोग निको नै हुँदैन, जीवनभर काम गर्न सक्दैन, रोग लागेमा देखाउन हुँदैन भन्ने गलत सोचाइले गर्दा रोग लागेपछि उपचारमा मानिसहरू कम आउने गरेका छन्’ उनले भने ।
नेपालमा हरेक पाँच जनामध्ये एकजना व्यक्तिमा मानसिक स्वास्थ्य समस्या हुने गरेको छ । नेपालमा स्वास्थ्य सेवाको सुविधा र जनचेतनाको अभावमा ८० प्रतिशत मनोरोगीहरू उपचारको पहुँच बाहिर रहेका छन् ।
जिल्ला अस्पताल र स्वास्थ्यचाैकीमा पनि उपचारको व्यवस्था हुनुपर्नेनेपालमा मानसिक रोगीको उपचारको लागि ललितपुरमा एउटा मात्रै अस्पताल रहेको छ । देशका जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीहरूमा मनोरोगको उपचारको व्यवस्था नहुँदा बिरामीहरू काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको छ ।
नेपालमा कडा खालको मानसिक रोगीलाई औषधी उपचार गर्ने अस्पताल र प्रयाप्त चिकित्सकहरू नभएको डा. ओझा बताउछन् । उनी भन्छन्, ‘नेपाल सरकारले स्थानीय तहसम्म पुगेर जनतालाई मानसिक स्वास्थ्य सेवाको बारेमा जनतचेतना दिनुपर्छ र जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा मानसिक स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्छ ।’
नेपालभर १ सय ४० जना मात्रै मनोचिकित्सक रहेको भन्दै उनले यो संख्या पर्याप्त नभएकाले सरकारले स्थानीय अस्पतालमा हुने मेडिकल डाक्टरहरूलाई पनि मनोसामाजिक परार्मशको लागि तालीमहरू उपलब्ध गराउनुपर्ने सुझाव दिन्छन् ।