
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने निश्चित भइसकेको छ । नयाँ गठबन्धनमा आबद्ध नेकपा एमालेका ७६, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी
(जसपा)का १२ र नेकपा (एकीकृत समाजवादी)का १० गरी १५१ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने देखिएको छ । प्रतिनिधिसभामा २७५ जना सदस्य संख्या हुने प्रावधान छ । विश्वासको मत लिन बहुमत चाहिन्छ । यो आवश्यक संख्या १३८ हुन आउँछ । यसर्थ, प्रधानमन्त्रीका लागि जुटेको १५१ आवश्यक बहुमत संख्याभन्दा १४ सिटले बढी हो ।
००००
प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा भने तनाव उत्पन्न भएको छ । संसदीय दलका नेता तथा रेशमकी पत्नी रञ्जिता चौधरीले प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्दा चौधरी पक्षले भने प्रचण्डलाई विश्वास मत नदिने निर्णय गरेको छ । पार्टीभित्र विवाद उत्पन्न भएपछि रेशम चौधरीले सार्वजनिक रुपमै यसबारे मुख खोलेका छन् । चौधरी प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् ।
रेशमले रन्जितालाई सम्झाउन नसकेको भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन् । उनले फेसबुकमार्फत् ‘गठबन्धन साना दललाई सिध्याउन हो, हामी कसैका पछाडि नलागौँ, पार्टी निर्माणमा जुटौँ’ भन्दै आग्रह गरेका छन् । ‘सन्दर्भः घर झगडा हुँदै होइन, विषय राजनैतिक हो,’ उनले लेखेका छन्, ‘मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’
रन्जितालाई सम्झाउन आफू कैलालीबाट कठमाडौं आए पनि सम्झाउन नसकेको उनले उल्लेख गरेका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाको बैठकमा विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएका छन् । यस्तै जसपा, रास्वपासहितका सत्ता पक्षका दलले पनि विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । यस्तै कांग्रेसले विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
००००
ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्वा प्रमोद निरौला मंगलबार घुससहित पक्राउ परेका छन् ।
धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको हो ।
००००
गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको छ ।
घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच गएराति सहमति भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
००००
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन् ।
मंगलबार नै अध्यक्षमा निर्वाचित बनेका दाहालले शपथ लिएसँगै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभारका ग्रहण गरेका हुन् । दाहालले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका थिए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ ।
करिब एक महिनापछि नेप्से परिसूचक दुई हजार एक सयको विन्दु नाघेको छ ।
००००
सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति भएको छ । यसअघि चार दलबीच ८ बुँदे सहमति भए पनि नेकपा एकीकृत एकीकृत समाजवादी गठबन्धनमा थपिएपछि मंगलबार सात बुँदे नयाँ सहमति भएको हो ।
मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको गठबन्धनको बैठकले सात बुँदे लिखित सहमति गरेको हो । गठबन्धनमा एकीकृत समाजवादीसहित माओवादी, एमाले, जसपा र रास्वपा छन् ।
००००
जनमत पार्टीले इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेश सभा क्षेत्र नं १ (क) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
००००
नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नो कार्यकालमा १० प्रतिशत राजश्व वृद्धि भएको दाबी गरेका छन् ।
मंगलवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर महतले कांग्रेसका कारण गठबन्धन सरकारले औसत् मात्र उपलब्धि गर्न सकेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै यस्तो दाबी गरेका हुन् ।
००००
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् ।
लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट पक्राउ गरिएको थियो ।
यस प्रकरणमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको पनि सहभागिता देखिने आधार लोकान्तर डट्कमले फेला पारेको छ । यससम्बन्धी विस्तृत समाचार लोकान्तरमा पढ्न सकिनेछ ।