माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडाैं | चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते ।
संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गरेका नेता समेत ओलीलाई भेट्न चाहँदैनथे ।
लामो अन्तरालपछि २०७८ मंसिर २४ गते नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा शीर्ष नेताहरू एक ठाउँमा उपस्थित थिए । तर, ओलीसँग बोल्ने त परै जाओस्, नेताहरूले हात समेत मिलाएनन् । ओली पूरै उपेक्षामा थिए ।
असार २८ पछिको अवस्था कस्तो थियो र कसरी एक्ल्याइएको थियो भन्ने एउटा अनुभूति ओलीले बुधवार संसद्मा पोखे, ‘भेटौं न भन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न नमानेको’ भनेर ।
२०७८ भदौ ९ गते नेकपा विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि माधव नेपाल ओलीविरुद्ध सार्वजनिक रूपमै खनिने गरेका थिए । ओलीमात्र नभई एमाले सांसद नारदमुनि रानालाई संसदीय समितिमै ‘प्रतिगमनका मतियार’लाई बाहिर निस्किहाल भनेर अपमानित गरेका थिए ।
२०७८ असोज ९ गते मकवानपुरको हेटौंडामा पुगेर माधव नेपालले आगामी चुनावपछि एमाले पत्तासाफ हुने भविष्यवाणी गरे, ‘ हामी यो देशको महत्त्वपूर्ण शक्तिको रुपमा उदाउँदैछौं, केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्न गइरहेको छ ।’
माधव नेपाल त्यत्तिकैमा रोकिएनन्, कात्तिक १२ गते पोखरा पुगेर कांग्रेस पहिलो, आफ्नो पार्टी दोस्रो, माओवादी तेस्रो र ओलीको एमाले पत्तासाफ हुने हिसाबकिताब सुनाए ।
२८ फागुन २०७८ मा धादिङको गल्छी पुगेर नेपालले ओलीको पार्टीलाई धूलो चटाइदिएको टिप्पणी गरेका थिए- ‘राष्ट्रिय सभा निर्वाचनमा केपी ओलीको पार्टीलाई धूलो चटाइदियौं, त्यसैले त्यो पार्टीको भविष्य छैन । विचराहरूको अनुहार चाउरिएको छ । बर्बराउन थालेका छन् । गालीगलौज गर्न थालेका छन् । उनीहरूसँग कुनै तर्क छैन र आँट पनि छैन ।’
पार्टी स्थापनाको वर्ष दिनको उपलक्ष्यमा २०७९ भदौ ९ गते आइपुग्दासम्म पनि नेता नेपाल भन्दै थिए, ओली नेतृत्वको एमाले गुट अहिले पनि हामीसँग ज्यादा आत्तिएको छ ।
ओली एक्लैले विरोधीहरूको प्रतिवाद गरिरहे । गठबन्धनविरुद्ध एक्लै चुनाव लडे । अन्ततः माधव नेपालको हिसाबकिताब कतै मिलेन । उनले दाबी गरेजस्तो न एमाले पत्तासाफ भयो, न नेकपा एस दोस्रो पार्टी बन्यो । बरु २०७९ मंसिर ४ को चुनावले माधव नेपाल र ओलीको हैसियतको भेद छुट्टाइदियो ।
सिंगो सत्ता गठबन्धनविरुद्ध एक्लै चुनाव लड्दा प्रत्यक्षतर्फ एमालेले प्रत्यक्षमा ४४ सहित संसदमा ७८ सीट जित्दा माधव नेपालको पार्टी १० सीटमा खुम्चियो । पपुलर मतमा एमाले पहिलो नै भयो ।
माधव नेपाल मात्र होइन, हाल प्रधानमन्त्री रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाले समेत एमालेलाई ५ वर्ष सत्तामा फर्किन नदिन हरसम्भव प्रयास गरेकै थिए । तर, ओली फेरि सत्ताको केन्द्रमा फर्किएका छन् ।
सुझबुझपूर्ण कदमले सत्तामा पुनरागमन
सर्वोच्चको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका गुमाएको विश्लेषण नभएका होइनन् । नेकपा एमाले र ओली फेरि सत्तामा फर्किँदैनन् भन्ने प्रचार र भाष्य पुरानो सत्ता गठबन्धनबाट आइरहेको थियो ।
२०७९ पुस १० मै ओलीले पहिलो गोल गरेका थिए, तर गेम जित्न सकेनन् । एमालेलाई सत्ता र ओलीलाई शक्तिबाट बाहिर राख्न खोज्नेको गठजोड मिल्यो । आफैंले प्रस्ताव गरेको प्रधानमन्त्रीले ओलीलाई विश्वासघात गरे । प्रचण्ड स्वयंले बुधवार संसद्मा स्वीकार गरे, ‘जसले मलाई प्रधानमन्त्री बनायो, बरु ओलीजीले धोकेबाज भन्न पाउनुहुन्छ, कांग्रेसले होइन ।’
आफ्नो वशबाट फुत्केर गएका प्रचण्डलाई ओलीले १२ महिनापछि फेरि आफ्नो कित्तामा ल्याउन सफल भए । कांग्रेससँगको सत्ता सहयात्रा सहज ढंगले गइरहेको अवस्थामा पनि प्रचण्डलाई तुलनात्मकरूपमा जोखिमपूर्ण बाटोमा ल्याउनु ओलीको खुवी हो । रणनीतिक चातुर्यता र सुझबुझपूर्ण कदमले ओलीले प्रचण्डलाई आफ्नो कित्तामा ल्याउन सफल भएका छन् ।
नयाँ समीकरण बनेपछि फागुन २४ गते प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले साहब जाफरीको ‘ये बता कि काफिला क्यूँ लुटा ?’ वाला शेर सुनाएर गठबन्धन भत्काउनेसँग प्रश्न नभएको बताएका थिए ।
राष्ट्रिय राजनीतिको निर्णायक र हस्तक्षेपकारी भूमिकाबाट अलग गर्न खोजिएका ओली साढे २ वर्षपछि फेरि सशक्त भूमिकामा कमब्याक भएका छन् ।
चौतर्फी घेराबन्दी तोड्दै नयाँ समीकरणसहितको गठबन्धन बनाउन सक्नु ओलीले गरेको गोल्डेन गोल नै हो । केही वर्ष अघिसम्म फूटबलमा पनि गोल्डेन गोलको अभ्यास थियो ।
कुनै बेला ओलीको राजनीति सकिएको भनेर भविष्यवाणी गर्ने माधव नेपाललाई उनले आफूले बनाएको नयाँ गठबन्धनमा लत्रेर आउनुपर्ने स्थिति सिर्जना गरिदिए ।
यो अवस्थामा आउँदासम्म ओलीले सुझबुझपूर्ण र परिपक्व कदम चालेका छन् । प्रचण्डसँगको सहमति अन्तिम चरणमा पुग्दा पनि उनले यसको सुइँको समेत दिएका थिएनन्, नयाँ सहमति हुने दिउँसो फागुन २० गते एक कार्यक्रममा ओलीले आवश्यक पर्यो भने अस्थायी प्रबन्धमा जान सकिने बताएका थिए ।
स्मरणीय छ, प्रचण्डले शंका गर्लान् भनेर आफूले ओलीसँग भेट्न अस्वीकार गरेको देउवाले पार्टी पदाधिकारी बैठकमै बताएका थिए । मुखमा आउन लागेको सत्ता गुम्ला भन्नेमा देउवा चिन्तित देखिएका थिए । तर, ओली भने लुकेर होइन, खुलमखुल्ला गठबन्धन भत्किने चेतावनी दिइरहन्थे ।
फागुन १६ गते विराटनगर पुगेर ओलीले गठबन्धन फुट्ने टिप्पणी गरे । ‘वर्तमान गठबन्धन सरकार खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ,’ ओलीले भनेका थिए ।
समकालीन पुस्ताका डायनामिक
उमेरले ७० कटे पनि ओली हरेक हिसाबले अपडेट देखिन्छन्, सूचना प्रविधि होस् या इतिहासका कुरा । यस्तो बुढ्यौली उमेरमा पनि ओलीले जाडो समयमा पूर्वपश्चिम यात्रा गरेर अल्छी बनेका कार्यकर्तालाई जुर्मुराए । राति १० बजेसम्म सभा गरे । बिहानै ७ बजे हिँड्न तयार भए ।
पूर्वपश्चिम यात्राका क्रममा ओलीले डडेल्धुरा पुगेको बेला देउवालाई फोन गरे । बालबालिकासँग सेल्फी हाने । दोलालघाट पुगेर माछा तारे । कीर्तिपुरको क्रिकेट ग्राउन्डमा गएर बालबालिकाकालाई काखमा लिए । ओलीले भोलि नेपाली सिनेमाका महानायक राजेश हमालसँग संवाद गर्दैछन् । कहिले मध्यरातमा एलओडी पुगेर युवाको भावना बुझे, कहिले युट्युबेलाई फोन गरे अनि कहिले स्कूले विद्यार्थीसँग कुरा गरे । आफूलाई भीआईपी ठान्ने अन्य शीर्ष नेता यसरी खुल्दैनन् ।
माघ १६ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई समकालीन नेतामा सर्वाधिक प्रतिभाशाली नेताको विशेषण दिएकी थिइन् । राजनीति मात्र नभई कला साहित्य, विज्ञान तथा धर्म र दर्शनमा गहन ज्ञान भएका ओली प्रेरणाको स्रोत भएको टिप्पणी उनले गरेकी थिइन् ।
‘केपी शर्मा ओलीज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ ओलीले संसद्मा गरेका भाषणको संग्रह सार्वजनिक समारोहमा भण्डारीले भनिन्, ‘राजनीतिका साथै कला साहित्य र धर्मबारे गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनुभएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’
हुन पनि ओलीले कयौं विषयमा गहिरो ज्ञान राखेका हुन्छन्, विज्ञान प्रविधि होस् या धर्मशास्त्रको कुरामा । विश्व वातावरण दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा ओलीले अमेजन जंगलको बारेमा दिएको प्रवचन युरोप–अमेरिका घुमिसकेका सांसदले अचम्म मानेर सुनेका थिए ।
मध्यरातसम्म अध्ययन गर्ने र योजना बनाएर काम गर्ने ओलीको आदत छ । समय र अनुशासित जीवनशैलीका कारण ओलीले जटिल रोगलाई जितेर पनि राजनीतिमा असाधारण सक्रियता जनाइरहेका छन् ।
निर्णायक भूमिकामा पुनरागमन
ओली अहिले प्रधानमन्त्री छैनन्, तर वर्तमान सरकारका योजनाकार र निर्णायक शक्ति हुन् । नयाँ समीकरणमा उनले भनेको मान्नुपर्ने अवस्था केन्द्रदेखि प्रदेशसम्मै छ ।
ओलीविरुद्ध २०७९ मा कांग्रेस, माओवादी, नेकपासहितको चुनावी गठबन्धन बन्यो । सरकार बनाउँदा २०७९ पुस १० गते ओलीको पहिलो निशानामा कांग्रेस पर्यो ।
गठबन्धन बनाएर चुनाव लडे पनि ओलीकै अग्रसरतामा माओवादीका प्रचण्ड प्रधानमन्त्री बनाइए । तर, यो सहकार्य लामो समय टिकेन । दुई महिनाभित्रै ओली सत्ता छाडेर विमुख हुनुपर्यो । तर, यसबाट उनले हार खाएनन् । बरु रणनीति, दाउपेच र अनेक चातुर्यता बुन्नमा समय खर्चिए । एकातिर राजनीतिक शक्ति पुनः प्राप्तिका लागि पर्खिए भने अर्कातिर तत्कालीन सत्ता समीकरणमा आएका हरेक तनावलाई नियालेर त्यसअनुरूप रणनीति अख्तियार गरे ।
कांग्रेससहितको बलियो गठबन्धन खडा हुँदा ओलीलाई फेरि सत्ता र शक्तिमा ‘कमब्याक’ हुन गाह्रो हुने टिप्पणी राजनीतिक विश्लेषकहरूको हुने गर्थ्यो । तर, ‘जसरी पनि सत्ता गठबन्धन ढाल्छु’ भन्ने खुला चेतावनी दिएको केही समयमै ओलीले एमालेलाई सत्ता राजनीतिको केन्द्रमा फर्काएका छन् । लामो समय केन्द्र, प्रदेशमा शक्तिविहीन हुँदा ओली मुख्य नियुक्ति मात्रै होइन, विदेशी शक्तिहरूको नजरमा पनि गुमनाम जस्ता थिए ।
प्रचण्डलाई आफ्नोतिर तानेर ओलीले आफूमा सत्ता र शक्तिका लागि राजनीतिक घेराबन्दी तोड्ने चातुर्यता र चलाखी रहेको सन्देश दिएका छन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ राजनीतिमा ठूलो, बलियो र निर्णायक शक्तिलाई सधैं बाहिर राख्ने सोच कसैले पनि पाल्न नहुने बताउँछन् ।
‘हामी संविधान, शान्ति र हरेक परिवर्तनका निर्णायक शक्ति हौं । वैदेशिक प्रभावसमेत भएको परिवर्तनकामी शक्तिलाई बाहिर राखेर निरन्तरता दिन्छु भन्ने दलहरूको सोच यसपटक पूरा हुन नपाएको हो,’ उनी भन्छन्, ‘हामी विरुद्धका शक्तिले लामो समय सत्ता र शक्तिबाहिर राख्छन् कि भन्ने परिस्थिति थियो । तर, समयले एमाले निर्णायक शक्ति हो भन्ने देखाएको छ । सोही बलमा पछिल्लो परिस्थिति बनेको हो ।’
एमालेले आफूलाई फेरि राजनीतिको केन्द्रमा फर्काएकाले अब मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने उनको भनाइ छ ।
‘एमालेको कमब्याक अरूको कारण होइन, हाम्रो प्रयासले सिर्जना भएको अवसर हो । यसैले व्यवस्थालाई टिकाउने, सुदृढ गर्ने, सामना गर्ने, विकास र समृद्धिका लागि काम गर्ने दायित्वको नेतृत्व अब एमालेले गर्छ,’ उनले भने ।
तर, अगाडिको बाटो जोखिमरहित भने नरहेको उनको भनाइ छ ।
‘हामीले गत वर्षको पुस १० गते पनि स्थितिलाई आफू अनुकूल ढाल्न खोजेका थियौं । तर, दुई महिनामा नै हाम्रो प्रयास दुर्घटनामा पर्यो,’ गुरुङले भने, ‘तर हामी विस्तारै सम्हाल्दै बलियो र रचनात्मक बन्ने बाटोमा अग्रसर हुन्छौं ।’
फेरि सत्तामा कमब्याक कसरी सम्भव भयो ?
सबैतिरको शक्तिबाट टाढिनुपरेको बोधले मात्रै नभई आफूहरूविरुद्ध बनेको अप्राकृतिक गठबन्धनका कारण पनि एमाले सत्तामा फर्किने वातावरण बनेको अध्यक्ष ओली निकट नेताहरू बताउँछन् ।
‘प्रमुख प्रतिपक्षमा भएपछि वेटिङ गभर्नमेन्टका रूपमा गर्ने पहल र कसरत त भई नै हाल्छ । यसमा हामीले सक्दो प्रयास र सक्रियता देखायौं । विशेषगरी अध्यक्ष कमरेडको मुख्य भूमिका रह्यो,’ ती नेताले भने, ‘गठबन्धनभित्रको लफडा, नागरिकमा आएको वितृष्णा र माओवादीको अब सकिँदैन भन्ने बुझाइले पनि यसमा भूमिका खेलेको छ ।’
पछिल्लो समय मन्त्री फेर्न कांग्रेस सभापति देउवा तयार नभएको, अर्थमन्त्री डा. प्रकाशशरण महतले असहयोग गरेको, कांग्रेस महासमितिबाट माओवादीलाई बदनाम बनाएको, अर्को चुनावमा गठबन्धन गर्दैनौं भन्ने डकुमेन्ट ल्याएको अवस्थामा माओवादी झस्किन पुगेको थियो ।
गठबन्धनमा हुर्कँदै गरेको यही संशयलाई चतुर ओलीले यसपटक आफ्नो अनुकूलतामा ढाल्दा सत्तामा कमब्याक सम्भव भएको बुझाइ एमालेका नेताहरूको छ ।
२० वर्षसम्मै गठबन्धन गर्ने कांग्रेस र माओवादीको दाबीमा सैद्धान्तिक आधार नभएकाले यसपटक एमाले र माओवादी नजिक हुने अवसर मिलेको एमालेका अर्का एक नेताले बताए ।
‘गठबन्धन बनाएर २० वर्षसम्म मिल्ने हो भन्नेसम्मका कुरा आए । तर, यता एक वर्षमा पनि नागरिकले अनुभूत गर्ने गरी काम भएन । चुनावमा कांग्रेससँग नभई एमालेसँग मिल्ने कुरामा सैद्धान्तिक आधार भएको बुझाइ पनि माओवादीको देखियो । विचार नै नमिल्ने ठाउँमा गैह्र लोकतान्त्रिक व्यवहारले कांग्रेस र माओवादी एक ठाउँमा बस्न नसकेका हुन् भन्ने हाम्रो ठम्याइ छ,’ ती नेताले भने, ‘यो गठबन्धन बनेपछि एमाले र माओवादीलाई तोड्ने कुरा हुँदैन भन्ने लाग्छ, किनकि माओवादीलाई ०८४ को चुनावका लागि एमाले चाहिएको छ । कांग्रेससँगको चुनावी तालमेल निष्प्रभावी भएको उनीहरूको निष्कर्ष छ । एमालेमा पनि माओवादी र नेकपा एसलाई मिलाएर लाँदा बलियो र प्रभावशाली बनिन्छ भन्ने स्वार्थ पक्कै छ । यी विषयमा समान बुझाइ भएपछि यसपटक बीचमै मिल्ने अवस्था आएको हो ।’
कुनै समय दुष्मनीपूर्ण सम्बन्ध रहेको नेकपा एकीकृत समाजवादीलाई समेत ओलीले यसपटक राम्रो भाउ दिएका छन् । पछिल्लो समीकरणमा एमालेको ७६ (सभामुख र निलम्बितबाहेक), माओवादीको ३२, रास्वपाको २१ र जसपाको १२ सीटले १४१ सीट पुग्ने अवस्था थियो । यो भनेको बहुमतभन्दा ३ सीटले बढी हो । त्यति हुँदाहुँदै पनि १० सीट भएको समाजवादीलाई समेत प्रधानमन्त्री प्रचण्ड र ओलीले पटकपटक वार्ता गरेर सरकारमा ल्याएका छन् ।
यतिमात्रै होइन, कांग्रेसभन्दा ठूलो दल बन्नका लागि एमालेले नेकपा एससँग पार्टी एकता गर्नेसम्मको तयारी अघि बढाउने कतिपय नेताहरू बताउँछन् । त्यसैले पनि ओली आफैं अग्रसर भएर माधव नेपाललाई टेलिफोन गर्ने, उनकै निवासमा भेट्न जाने, छुट्टै वार्ता गर्नेदेखि पछिल्लो ७ बुँदे सहमतिसम्मको वातावरण बनाएका छन् ।
‘अघिल्लोपटक नै नेपाललाई राष्ट्रपति बनाएर जान तयार थियौं, तर उहाँ मान्नुभएन । यसबीचमा उहाँको पार्टी पनि निरन्तर खुम्चँदै गएको छ,’ एमाले स्रोत भन्छ, ‘त्यसैले बरु सम्मानजनक रूपमा एकअर्काका कुरा सुनेर जाऊँ, केही समयपछि एकतासम्मै पुगौं भन्ने आधार तयार हुँदैछ ।’
पढ्नुहोस्, यो पनि :
बुढ्यौलीलाई जितेका ओली : ७१ वर्षको उमेरमा पनि चकित पार्ने सक्रियता !
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...