
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई बेहोस पार्ने गरी जवाफ दिन तयार रहेको बताएका छन् ।
आफैंमाथि प्रश्न उठाउँदै कांग्रेसले सदन अवरुद्ध गरेपछि रविले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसलाई बेहोस पार्ने गरी जवाफ दिन तयार रहेको बताएका हुन् ।
‘जवाफ दिन तयार छु । ९ मिनेट १८ सेकेन्डमा सबै कुरा प्रष्ट पार्दिन्छु । जवाफ दिएपछि कांग्रेसहरू बेहोस हुने हुन् कि ?’, रविले भने, ‘नागरिकको सवालमा काम गर्ने गरी म्यान्डेट पाएको हौं । यो शक्ति नेपाली जनताले दिएका हुन् । कति दिन पदमा हुन्छु थाहा छैन । तर जति दिन हुन्छु डटेर लाग्छु ।’
कांग्रेसको नारा अझै चर्को भए पनि अनुसन्धानमा कुनै प्रभाव हुन नदिने उनले बताए । ‘माछा होस् कि भ्यागुतो होस् कसैलाई छोड्दिनँ अनुसन्धानमा प्रभाव पर्न दिन्न । कसको उजुरी हो ? के हो उजुरी हो ?
एकपटक अवसर पाए कांग्रेसलाई पढाउने इच्छा छ’, रविमाथि सहकारी ठगीमा परेको उजुरीबारे रविले भने, ‘संसद्मा विधेयक प्रस्तुत गर्न नदिने, कानुन बन्न नदिने इतिहास बोकेको लोकतान्त्रिक दलले गर्न सुहाउँछ ?’
प्रधानमन्त्रीले चैत ६ गते सदनमा जवाफ दिने भनेपछि कांग्रेसको विरोध उचित नभएको उनले बताए । ‘म आफैंले पनि जवाफ दिन पाऊँ भनेको छु । लोकतन्त्रले दिएको अधिकार हो’, रविले भने, ‘प्रधानमन्त्रीले जवाफ दिने कुरा तय भएको छ । सभामुखले रुलिङ गर्नुभएको छ ।’
एक दिन गृहमन्त्री भए पनि काम गर्ने हुटहुटी आफूमा भएको उनले बताए ।
‘कति दिन गृहमन्त्री हुन्छु थाहा छैन । एक दिन भए पनि आफ्नो काम गर्छु’, उनले भने, ‘प्रतिवेदनले दिएको विषयमा कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।’