×

‘गुरु’को सिकाइ, आदर्शले हो चेलाहरू गन्तव्यमा पुग्ने । गुरुको आदर्श, बुझाइ र प्रेरितबाट चेलाहरू अगाडि बढ्छन् । रोल्पाको जलजला पहाडजस्तो राजनीतिक उचाइ । थबाङजस्तो आस्थाको आदर्श गाउँ । विज्ञान–गणितका नामी शिक्षकसँगै माओवादी आन्दोलनमा नेता कार्यकर्ता उत्पादन गर्न सक्ने ‘अब्बल’ नेता । यस्ता कयौं ‘आदर्श’का पर्यावाची कृष्णबहादुर महरा ‘गुरु’को ओरालो यात्राले माओवादी आन्दोलन रन्थनिएको छ ।

माओवादीको सशस्त्र संघर्षकै बेला वार्ता टोली, शान्ति वार्ताकालसम्म सबैभन्दा बढी मौका पाउने नेतामा पर्छन्, महरा । माओवादी एकै ठाउँमा हुँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य ‘किरण’ दुवै पक्षको बीचमा बसेर महराले राजनीतिक लाभ लिइरहे । उनलाई माओवादीमा 'किङ कमरेड' (किङ मेकर)को उपमा दिइन्थ्यो । वैद्यले पार्टी छाडेपछि महरा प्रचण्डसँगै रहे । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, अर्थमन्त्री वर्षमान पुन, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जोखबहादुर महरा, कुलबहादुर केसीलगायत रोल्पाली नेताका गुरु हुन्, महरा ।


Advertisment

सुन तस्करीसँग संलग्न रहेको आरोपमा छानबिनका लागि यतिखेर महरा प्रहरी हिरासतमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराको विगत हेर्दा लामै इतिहास बोकेको देखिन्छ, तर पटक–पटक उनले गरेका क्रियाकलापले उनको इतिहासलाई आफैँ मेटाउने काम गरिरहेका छन् । सम्वत् २०१५ असार १५ गते रोल्पाको लिबाङमा जन्मेका महरा २०४८ आम चुनावबाट खुला राजनीतिमा उदाए । १० वर्षे युद्धकालमा भूमिगत हुँदै शान्ति वार्ताकालमा देखा परे । सञ्चार, गृह, अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालयको कार्य सम्पादन समेत राम्रै गरेका महराले आफ्नो राजनीतिक इतिहास आफैँ समाप्त पारेका छन् ।


Advertisment

रविचन्द्र महराका माइला छोरा कृष्णबहादुरले सानैमा आमा गुमाउनुपर्‍यो । हजुरबुवालाई कुष्ठरोगले गाँजेपछि बुवा कालापार हिँडे । काकाको संरक्षणमा हुर्केका महरालाई पनि काका र बुवाले भारततिरै लगे । त्यहीँ बागेश्वरी पाठशालाबाट अध्ययन थाले । हिन्दी भाषा त्यति नजाने पनि महराले कक्षा आठ प्रवासमै पढेर पास भए । कक्षा आठदेखि बालकल्याण मा.वि. लिवाङमा भर्ना भए । महराले बालकल्यणबाटै एस.एल.सी. उत्तीर्ण गरे । 

पोखरामा अध्ययनकै क्रममा उनको प्रचण्डसँग भेटघाट भयो, जुनबेला प्रचण्ड अखिल नेपाल युवक संघको अध्यक्ष थिए । त्यही सम्पर्कबाट महरा २०३६ सालमा पार्टी सदस्य बने । पार्टी सदस्य बनेलगत्तै उनी जिल्ला समिति सदस्य बने । २०३७ मा उनले सीतासँग लगनगाँठो कसे, पोखरा क्याम्पस अध्ययनको क्रममा ।

२०४८ को आमचुनावमा संयुक्त जनमोर्चाबाट निर्वाचित हुँदै २०५१ को अन्त्यदेखि पार्टीको भूमिगत राजनीतिमा लागे । उनी २०५३ मा केन्द्रीय सदस्य र चौथो विस्तारित बैठकबाट पोलिटब्यूरो सदस्य बने । त्यसपछि महराले पार्टीमा पछाडि फर्किनुपरेन । स्थायी समिति हुँदै सचिवालय सदस्यसँगै पार्टी प्रवक्तामा पुगे । हाल उपाध्यक्ष छन् । 

चार दशक बढी सक्रिय राजनीतिक जीवनमा महराका जीवनमा धेरै उतारचढाव आए । बाह्र वर्षे शिक्षण पेशासँगै राजनीतिक गतिविधि, १० वर्ष भूमिगत राजनीति, त्यसपछि खुला राजनीतिसँगै उच्च पदहरू सम्हालेका महराले हिजोको दिनमा जति गरे, जे गरे, सबै समाप्त भएको छ । भलै अदालतले सफाइ देला, तर हिजोको ‘आदर्श महरा सर’ भनेर उनका विद्यार्थीहरूले भन्ने ठाउँ कहीँ देखिन्न ।

महराका ती दिन !

नेकपा (माओवादी)को नामबाट निरन्तर हिंसात्मक गतिबिधिबाट जो कोही नागरिक आजित थिए । २०५८ साउन ८ गते माओवादीले ‘युद्धविराम’ घोषणा गर्‍यो ।

युद्धविरामपछि हत्या हिंसा रोकियो भनेर आमनागरिकमा खुशी छाएको थियो । नागरिक समाजदेखि उद्योगी व्यवसायीहरू समेत खुशी भएका थिए । सरकारले सकारात्मक प्रतिक्रिया दिएपछि माओवादीले साउन १२ गते कृष्णबहादुर महराको नेतृत्वमा अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी रहेको वार्ता टोली गठन गरेको घोषणा गर्‍यो । संयोगले रायमाझी भुटानी शरणार्थी काण्डमा संलग्न भनेर भद्रगोल सुधारगृह जेलमा छन् । 

वार्ता टोली कहिले सार्वजनिक होला ? भन्ने सबैलाई कौतुहल थियो । खबर आयो वार्ता टोली कीर्तिपुरमा १२ गते नै सार्वजनिक हुने भए । तीन सदस्यीय माओवादी वार्ता टोली कीर्तिपुरमा सार्वजनिक भयो । सञ्चारकर्मीहरू त्यहाँ पुग्दा मल्ल के सुन्दरदेखि उपत्यकाका नेवारहरूको जमघटको बीच भागमा वार्ता टोली देखियो । भूमिगतकालमा काम गर्ने युवा, विद्यार्थीहरूको त्यहाँ लर्को थियो । माओवादी लडाकूलाई शहरमा पहिलोपटक सार्वजनिक रूपमा देखियो । सँगै थिए, बाक्लो दाह्री भएका महरा, सापकोटा र रायमाझी ।

दायाँतिर पेस्तोल भिरेका र कम्ब्याट लगाएका लडाकूले पहरा दिएका थिए उनीहरूलाई । वार्ता टोलीका सदस्यहरूले हात उठाएर ‘लालसलाम’ गर्दैगर्दा ती हतियारसहितका लडाकाले सेनाकै शैलीमा तीनैजनालाई पहरा दिए ।

नेताहरूको अनुहार भन्दा ती कम्ब्याट लगाएका लडाकातिर धेरैको आँखा गयो । वार्ता बस्ने बेला हतियारसहित उपस्थिति हुने कि नहुने बारे छुट्टै बहस समेत भयो । पछि आचारसंहिता बनाए पछि त्यो समाधान भयो । बिहान सबै पत्रपत्रिकामा वार्ता टोली र कम्ब्याट लगाएका लडाकूको फोटोसहित मुख्य समाचारहरू आए ।

साँझ महरा, सापकोटा र रायमाझीको राजनीतिक पृष्ठभूमिसहित समाचार लेखियो । भर्खर मोबाइल आएको थियो बजारमा । सर्वसाधारणको पहुँचमा थिएन मोबाइल । मोबाइलमा कल गर्दा त पैसा लाग्ने नै भयो, उठाउँदा समेत पैसा लाग्थ्यो । त्योबेला मोबाइल बोक्नेलाई देख्दा सबैले ‘वाह !’ भन्थे । महरालाई भेट्ने माध्यम कृष्ण सेन ‘इच्छुक’ र गोविन्द आचार्य (हालका प्रधानमन्त्रीका प्रेस सल्लाहकार) भए । उनीहरूले त्यसबेला जनादेश साप्ताहिकमा काम गर्थे । एउटा पोस्टपेड मोबाइल सेनले पहिलोपटक लिएका थिए । वार्तामा आएका टोली सदस्यहरूको बस्ने, खाने, सुरक्षा व्यवस्था आफ्नै खालको थियो । केही जानकारी लिनु परे सेन दाइलाई फोन गर्थ्यौं । त्यही फोन केही दिन गोविन्द आचार्यले चलाएका थिए ।

महरा ‘पटक–पटक मारिए’

माओवादीले आफ्नो गतिविधि बढाउँदै गएपछि लेख्न र बोल्न गाह्रो भयो । स्रोतहरूसँगको सम्पर्क टुटेन, तर समाचार जे हो त्यो लेख्न निक्कै गाह्रो भएको थियो । २०५८ फागुन ४ गते अछाम सदरमुकाम र साँफेबगर एयरपोर्टमा माओवादीले आक्रमण गरेपछि झन् राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा आलोचना भयो । ५५ जना तत्कालीन शाही सेना र १ सय ५० जना प्रहरी मारिएपछि माओवादीले सुतेको बेला आक्रमण गरेको भनी त्यसको व्यापक आलोचना भयो । 

त्यसपछि लगभग समाचारको स्रोतहरू तत्कालीन शाही नेपाली सेना, रक्षा र गृह मन्त्रालयको विज्ञप्तिबाहेक अरू थिएनन् । हामी राजनीतिक बिटमा समाचार लेख्नेको दिन थिएन । यसो समाचार हेर्‍यो, नागरिक समाजको कार्यक्रमतिर गयो । सानो एक कलोमको समाचार लेख्यो, बस्यो । त्यही थियो अवस्था । जहाँ भिडन्त हुन्छ, त्यहाँको पुष्टि र माओवादीले यसो भनेको छ भन्ने काम मात्रै भयो । नत्र सारा समाचार रक्षा र गृहबाटै आउँथ्यो । 

विज्ञप्ति अनुसार गोरखापत्रले आतंककारी भन्थ्यो । अरू ठूला दैनिकले आतंककारी त भनेनन्, तर माओवादी मारिनेको संख्या कसले कति राख्ने एक खालको प्रतिस्पर्धा थियो ।

हवाला रक्षा र गृहको हुन्थ्यो । त्यो बेला माओवादी स्रोतबाट आउने संख्याको मान्यता हुँदैन्थ्यो । 

‘गृह मन्त्रालय उच्च स्रोतका अनुसार माओवादी नेता कृष्णबहादुर महरा मारिए’ भनेर दुईपटक समाचार आयो ।

२०५९ साल वैशाख १९ गते रोल्पाको लिस्ने लेकमा शाही नेपाली सेनासँग माओवादीको आम्ने–साम्ने भिडन्त भयो । माओवादीहरूले त्यसलाई ‘अमेरिकी फोर्टिफिकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेस क्याम्प’ को नाम दिएको थियो । तर, त्यसको कुनै स्वतन्त्र रूपले पुष्टि भएन । यता रक्षा र गृहले माओवादी मारिनेको संख्या बढाउँदै लग्यो । ४ सय कि ६ सय भन्नेमा शीर्षक राख्नेमा पत्रिकाहरू पुगे । जिल्लाका रिपोर्टरहरूले एउटा रिपोर्ट पठाए पनि यता सुरक्षासम्बन्धी रिपोर्टिङ गर्नेहरूबाट संख्या ह्वात्तै बढ्थ्यो । 

रक्षा र गृहको उच्च स्रोत भनेपछि धेरैले महरा मारिए कि ? भन्ने आशंका गरे । पार्टी स्रोतहरूले दिएको सूचनालाई आधार मान्ने चलन थिएन । माओवादीका धेरै स्रोतहरू पक्राउ परेपछि भरपर्दो स्रोतको समेत अभाव भयो । एक्कासि एक दिन सीएनएनमा महराको ‘भिज्युल’सहित अन्तर्वार्ता आयो । 

एकान्त जंगलभित्र भएको घरमा महरा हिँड्दै, चिया पिउँदै गरेको अनेक पोजसहितको अन्तर्वार्ता आएको थियो । बल्ल महरा जिउँदै छन् भनेर विश्वास भयो । पत्रकारहरूबीच यो विषय जोक नै बन्यो । 

महराले आधा नेपाली, आधा हिन्दीमा आफ्नो कुरा राख्दै सीएनएनमा अन्तर्वार्ता दिएका थिए । पछि पुनः वार्ता टोलीको घोषणा हुँदा महरा सदस्य बने । २०५९ चैत १४ गते उनी नेपालगञ्जबाट काठमाडौं आइपुगे । वार्तामा बस्नुअघि केही आचारसंहिता बनेका थिए । हतियार लगायतमा । तर, महरा हतियारधारीसहित राजधानी आए भन्ने समाचार लेखेको थिएँ, अघिल्लो दिन । 

महरा राजधानी आएपछि तत्कालै सम्पर्क भयो । ज्याठाको एक घरमा बोलाए, अन्तर्वार्ताका लागि । कान्तिपुर दैनिकका लागि गुणराज दाइ र म मरालाई भेट्न गयौं । 

‘उजिरजी मलाई हतियारसहित महरा काठमाडौंमा भनेर लेख्नुभएको थियो । ऊ मेरो छोरा हो, मेरो जेठो छोरो’, सिकाउँदै महराले मलाई उल्टै प्रश्न गरे । महराका दुई छोरामध्ये कान्छा राहुल महरा सुन काण्डमा पुर्पक्षका लागि जेलमा छन् ।

‘नेपालगञ्जकै सुरक्षा निकाय स्रोतका अनुसार हजुरको निजी सुरक्षाका लागि हतियारसहित आएको भन्ने थाहा भएर हो सर,’ मैले भनें । त्यसपछि अन्तर्वार्ता शुरू गर्‍यौं । दोस्रो वार्तामा आएका बेला हामीले महराको पहिलो अन्तर्वार्ता लिएका थियौं ।

(नोटः महराका पुराना घट्नाक्रमहरू लेखकको ‘अंश’ पुस्तकमा प्रकाशित सामग्रीलाई पुनरसम्पादन गरिएको हो ।)
 

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x